राष्ट्रपति भण्डारी सुदूरपश्चिम भ्रमणमा
बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि सुदूरपश्चिम भ्रमणमा आउने कार्यक्रम छ ।
तीनदिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बैतडीसहित सुदूरपश्चिमका पाँच जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुने जनाइएको छ।
राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ।
भोलि १५ गते बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
राष्ट्रपति भण्डारीले बिहीबार नै दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट राष्ट्रपतिलाई पाटनमै नागरिक अभिनन्दन गरिने जनाइएको छ।
त्यसभन्दा अगाडि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि राष्ट्रपतिले विषेश पूजाआजा गर्ने कार्यक्रम छ।
मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ।
यस्तै १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ।
Facebook Comment