टी–२० सिरिजमा मलेसियाको क्लीन स्वीप

एजेन्सी । हङकङविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा मलेसियाले क्लीन स्विप गरेको छ । क्वालालम्पुरमा बुधबार भएको पाँचौ तथा अन्तिम टी–ट्वान्टीमा ६ विकेटको सहज जित निकाल्दै मलेसियाले सिरिज ५–० ले जित्दै क्लिन स्विप गरेको हो ।
हङकङले दिएको १ सय ७२ रनको लक्ष्य मलेसियाले १८ ओभर ३ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो । मलेसियाको जितमा सेद अजिजले ५० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै कप्तान भिरन्दिप सिंहले २७, खिजर हायातले २५, अनवर अरुदीनले २४ र मोहमद अरिफ र शर्भिन मुनिडेयले समान २३–२३ रनको पारी खेले । हङकङका अजज खानले २ तथा मोसिन खान र इशान खानले समान १–१ विकेट लिए ।
यसअघि हङकङले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । उसको किञ्चित शाहले सर्वाधिक ७२ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान अजिज खानले ४४, शाहिद वासिफले ३० तथा निजाकत खानले १२ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् । मलेसियाका स्याज्रुल इद्रुस, खिजर हायात र शर्भिन मुनिडेयले समान २–२ विकेट लिए ।
यसअघि भएको ४ वटै खेलमा मलेसियाले जित हात पारेको थियो । पहिलो खेलमा मलेसियाले डीएल पद्दतिमा २१ रन, दोस्रो खेलमा ३५ रन, तेस्रो खेलमा ८ र चौथो खेलमा १३ रनले हङकङलाई पराजित गरेको थियो ।
Facebook Comment