वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा निर्णय कार्यान्वयन नहुने!

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा केपी शर्मा ओलीको असहमतिका बावजुद पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सिफारिस गर्ने नेकपा सचिवालयको निर्णय कार्यान्वयन नहुने संकेत देखिएको छ।
बुधबार बसेको नेकपा सचिवालय बैठकले गौतमलाई रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यमा मनोनितका लागि मन्त्रिपरिषद्ले सिफारिस गर्नुपर्ने सिफारिस गरेको थियो। तर, प्रधानमन्त्री तथा ओलीले गौतमलाई मन्त्रिपरिषद्ले सिफारिस नगर्ने आफ्ना निकटवर्तीलाई बताएको जनाइएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको सांसदको पदावधि यही फागउन २० गते सकिँदै छ।
उनी मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित सांसद हुन्। रिक्त हुने राष्ट्रय सभा सदस्यको पद जुन प्रक्रियाबाट निर्वाचन भएको हो सोही प्रक्रियाबाट पूर्ति गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार खतिवडाको पद रिक्त भएपछि सरकारले एकजनालाई राष्ट्रिय सभा सदस्यका लागि सिफारिस गर्नेछ।
बुधबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरिएको थियो। तर, अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूलाई धेरै पेलिएको भन्दै खतिवडालाई नै निरन्तरता दिने सन्देश आफ्ना निकटवर्तीलाई दिएका छन्।
उता नेकपा संसदीय दलका उप नेता सुवाष नेम्वाङले भने पार्टीको निर्णय कार्यान्वयन हुने जनाए। उनले डिसी नेपालसँग भने, ‘सचिवालयको निर्णयबारे प्रवक्ताले जानकारी दिएकै हो। राष्ट्रिय सभा सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने कुरा हो। पार्टीले सरकार समक्ष आग्रह गर्नेमात्र हो।’
Facebook Comment