दिल्लीमा हिंसा भड्किएपछि शान्त रहन मोदीको आव्हान
काठमाडौं (एजेन्सी) । दक्षिण छिमेकी मुलक भारतको राजधानी दिल्लीमा तीनदेखि हिंसा भड्किएको छ । भारत सरकारले २ महिना अगाडि नागरिक ऐन संशोधन गरेपछि भइरहेको विरोधमा गएको सोमबार सो कानुनका पक्षधरले आक्रमण गरेपछि पूर्वी दिल्लीमा हिंसा भड्किएको हो । हिंसामा परी बुधबार बेलुकासम्म कम्तिमा २२ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मृतकहरुमा दुईजना सुरक्षाकर्मी छन् भन्ने अन्य सर्वसाधारण हुन् । २०० भन्दा धेरै घाइते भएका छन् । केही सुरक्षाकर्मी पनि घाइते भएको भारतीय सञ्चार माध्यमहरुले दिल्ली प्रहरीको हवला दिँदै जनाएका छन् ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार मृतकहरुमा धेरैजसो मुस्लिम समूदायका छन् । आन्दोलनकारीहरुले सम्पत्तिमा गरेको क्षति पनि धेरै जसो मुस्लिमहरुकै रहेको बीबीसी हिन्दीले जनाएको छ । बीबीसी हिन्दीले दिल्लीका मुस्लिमहरुमा त्रासको वातावरण बनेको उल्लेख गरेको छ । दिल्लीमा हाल भड्किएको हिंसालाई १९८४ पछिको सबैभन्दा ठूलो साम्प्रदायिक हिंसा भनिएको छ । त्यतिबेला तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको हत्यापछि हिन्दु र शिखबीच हिंसा भएको थियो । त्यसपछि पहिलो पटक दिल्लीमा हिन्दु र मुस्लिमबीच भिडन्त भएको हो ।
केन्द्र सरकारले नागरिकता एन संशोधन गर्दै बंगलादेश, पाकिस्तान र अफगानिस्तानबाट भारत पुग्ने गैर मुस्लिमलाईमात्र नागरिकता दिने व्यवस्था गरेपछि त्यसको मुस्लिम संगठन र केही स्वतन्त्र व्यक्तिहरुले विरोध गर्दै आएका छन् । तर, हिन्दुवादी भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले भने कानुनको बचाऊ गर्दै आएको छ । यहीबीचमा भाजपाका नेता कार्यकर्ताहरुले भड्काउ भाषण गरेपछि दिल्लीमा पछिल्लो हिंसा भड्किएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । कपिल मिश्रालगायतका भाजपा नेताहरुले नागरिकता ऐन संशोधनको विरोध गरिरहेकाहरुको विरोध गर्न भनेपछि हिंसा भड्किएको बताइन्छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमणकै क्रममा दिल्लीमा भड्किएको हिंसा साम्प्रदायिक देखिएपछि यसको व्यापक विरोध भइरहेको छ । अमेरिकाले भारतमा मुस्लिमहरुमाथि हिंसा भएको भन्दै उनीहरुको रक्षा गर्न भनेको छ । यस्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भारतमा रहेका २० करोड मुस्लिमहरु संकटमा परेको भन्दै दुःख व्यक्त गरेका छन् । हिंसा भड्कोको तेस्रो दिन बुधबारमात्र यो विषयमा बोलेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शान्त रहन अपील गरेका छन् । उता भारतीय प्रमुख विपक्षी दल भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धीले गृहमन्त्री अमित शाह हिंसाको जिम्मेवार भन्दै उनले राजीनामा दिनुपर्ने बताएकी छन् । हिंसा भड्केपछि केन्द्र सरकारको मातहतमा रहेको दिल्ली प्रहरीको भूमिकामाथि पनि प्रश्न उठाइएको छ ।
Facebook Comment