राजदरबारले गरेको भीमेश्वरको पूजा र अपसकुनहरु
यतिबेला आफ्नो व्यक्तिगत र पारिवारिक कामको सिलसिलामा म संयुक्त राज्य अमेरिकाको भर्जिनियामा छु । एक हप्ताअघि नेपाली संचार माध्यमहरुबाट खबर आयो दोलखा भिमेश्वरको भगवानको शिलामा पसिना आयो। यो खबरले अमेरिका भए पनि मेरो मन देश र त्यहांको उच्च नेतृत्वका लागि छटपटाएको छ।
म राजदरबारमा कार्यरत रहँदा तत्कालीन श्री ५ महाराजधिराज र बडामहारानीले भीमेश्वर भगवानको शिलामा पसिना आएको कुरालाई निकै गम्भीरतापूर्वक लिएको सम्झन्छु। विगतदेखिको परम्परा र विश्वासका कारण उहाँहरुमा त्यस्तो घटनालाई गम्भीररुपमा लिनुपर्छ भन्ने मान्यताले स्थान पाएको थियो।
भीमेश्वर महादेवमा पसिना आउँदा मुलुक र त्यसको उच्च नेतृत्वमाथि संकट आउँछ र देशले ठूलै विपत्ति भोग्नुपर्छ भन्ने धारणा पुस्तान्तरण हुँदै आएको हो। यो सानो लेखमा म कहिले कहिले पसिना आउँदा कुन कुन ठूला घटना भए भन्ने कुराको धेरै चर्चा गर्नुभन्दा पनि नारायणहिटी दरबारले त्यसलाई लिने गरेको गम्भीरताको बारेमा मात्र उल्लेख गर्दछु।
विक्रम सम्बत् २०४६ सालको फागुनदेखि मुलुकमा पञ्चायतविरोधी आन्दोलन उत्कर्षमा पुगेको कुरा कसैले विर्सेका छैनौं। तर, त्यसअघि पनि मुलुकलाई संकट आइलागेको थियो छिमेकी मुलुक भारतका तर्फबाट। तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले नेपालबिरुद्ध आर्थिक नाकाबन्दी लगाएका थिए २०४५ सालदेखि नै।
२०४६ सालको फागुनदेखि मुलुकमा पञ्चायतविरोधी आन्दोलन उत्कर्षमा पुगेको कुरा कसैले विर्सेका छैनौं। तर, त्यसअघि पनि मुलुकलाई संकट आइलागेको थियो छिमेकी मुलुक भारतका तर्फबाट। तत्कालीन भारतीय प्रधानमन्त्री राजीव गान्धीले नेपालबिरुद्ध आर्थिक नाकाबन्दी लगाएका थिए २०४५ सालदेखि नै।
यो कस्तो संयोग हो वा दैवको लीला अर्थात भीमेश्वर महादेवले दिएको संकेत त्यो छुट्याउने जिम्मा प्रबुद्ध पाठकहरुको जिम्ममा दिन चाहान्छु । तर, नाकाबन्दी भन्दा ठीक अगाडि भीमेश्वर महादेवमा पसिना आएको खबरले तत्कालीन राजदरबार प्रशासन र श्री ५ महाराजधिराज तथा बडामहारानीमा चिन्ता भने अवश्य थपिएको थियो।
२०४५ सालमा दोलखामा अवस्थित भीमेश्वर महादेव मन्दिरमा पसिना आएका बेला तत्कालीन श्री ५ महाराजाधिराज बीरेन्द्र र रानीबाट मलाइ दोलखा खटाउने आदेश भएको थियो। जव मन्दिर प्रशासनले रीतपूर्वक राजदरबारलाई जानकारी गरायो त्यसपछि तपाई पूजागर्न जानू माथिवाट खवर आएको छ भन्दै मेरो तालुक अड्डाका हकिमले आवश्यक सामाग्रीसहित जान आदेश दिए।
उनको आदेशअनुसार, त्यसको भोलिपल्टै म दोलखा गएर भीमेश्वर महादेवमा दरबारका तर्फबाट क्षमापूजा गर्नु पर्ने थियो। यो आदेशसँगै म र मेरा सहयोगी न्हुच्छेलाल महर्जन शाही एम टी का सवारी चालक दुईजनालाई लिएर विहान सबेरै अर्थात् ५ बजे नै नारायणहिटीबाट दोलखातिर हिडेंको थिएँ। करीब ११ बजे हामी भीमेश्वर मन्दिर पुगेका थियौं।
त्यहाँको विधि विधानअनुसार जोर बोका बली दिइयो। बोकाको व्यबस्था दरबारकै खर्चमा स्थानीय सेनाको व्यारेकले गरेको थियो। त्यसैगरी सिजनअनुसारका फलफूलहरु ५ थरि पाँच पाँच वटा, पाँचथरि रोटी पाँच पाँचबटै, समयवजी, फूलमाला, रातो,सेतो र पहेंलो कपडा तथा सौभाग्यका सामानहरु राखेर भगवानको आराधाना पूजा सम्पन्न गरेर तत्काल दरबार फर्की श्री ५ महाराजधिराज र महारानीमा त्यो प्रसाद चढाएको थिएँ।
चलनअनुसार फूल प्रसादसहित बली दिएको बोकाको एउटा साप्रो श्री ५ हरुलाई प्रसादका रुपमा दिइन्थ्यो। दरवारमा प्रसाद चढाई घर आइपुग्दा रातको १० बजिसकेको जस्तो लाग्छ। बाटो मा बयोबृद्ध सहयोगी न्हुच्छे दाइको भनाइ अझै याद आउछ मलाइ।
उनले भनेका थिए, बाजे अब के हुने हो? वहा मभन्दा धेरै वर्ष पहिलादेखि नै पूजाकोठा राजदरवारमा सेवारत हुनुहुन्थ्यो। एउटा अर्को कुरा मलाइ सधै याद आइरहन्छ त्यो हो, उपत्यकाका नेवर समुदाय जहाँ गए पनि आफ्नो सस्कृतिलाई सदैव विश्वास गरेर बस्छन्।
यो कुरा मैंले यहाँ अमेरिकामा बसोबास गर्ने उपत्यका मूल थलो भएका नेवार समुदायमा पनि देखेको छु। न्हुच्छे दाइको आशंका अनुसार नै भीमेश्वरको पसिनाको असर त्यसपछि नेपालको राज्य सत्ता, राजपरिवार र शासनव्यबस्थामा निकै महंगो सावित भइसकेको कुरा मैंले दोहोर्याइ रहनु नै परेन सबैका अगाडि छर्लंग भइसकेको छ।
भीमेश्वरमा पसिना केही समय विराएर लगातारजस्तो आउन थाल्नुले राजदरबारमा चिन्ता थपिन्थ्यो। राजा ज्ञानेन्द्रले राजपाठ सम्हाली सकेपछिको अर्को घटना सम्झन्छु म। उहाँ यसैपनि देवी देउता र शक्ति पीठमा पूजा अर्चनामा निकै दत्तचित्त हुने राजा भएकाले भीमेश्वरको पसिनाको खवर आउँदा तत्काल क्षमापूजाको आदेश स्वभाविक नै हो। तर, यस्तो बेलामा पसिना आइदियो कि त्यहाँ सजिलै पुग्न सकिंदैन थियो सडक मार्गबाट।
अहिले सत्तामा भएका तत्कालीन माओवादीहरुको हिंसापूर्ण सशस्त्र युद्ध निकै उत्कर्षमा पुगेको बेलाको कुरा हो यो। भीमेश्वरमा निकै धेरै पसिना देखिएको कुरा दरबारमा आएपछि तत्कालीन राजा श्री ५ ज्ञानेन्द्रबाट परम्पराअनुसार, तत्काल क्षमा पूजा गर्नु भन्ने आदेश भयो।
तर, सो आदेश पालना सहज थिएन। सडक राजमार्गजति सबै विद्रोही माओवादीहरुको कब्जामा थियो। त्यसमाथि पूजाका सामग्री लिएर दरबारको गाडी दोलखासम्म पुग्ने सम्भावना भएन। त्यसपछि राजा स्वयंबाट हेलिकोप्टरमा पठाउने आदेश भयो। त्यसपछि म हेलिकोप्टर लिएर भीमेश्वरको पूजा गर्न गएको थिए।
अहिले पनि भीमेश्वरमा पसिना आएको छ। यसको परिणाम के आउँछ त्यो केही महिनाभित्रै देखिने जनविश्वास रहँदै आएको छ। परम्परागत विश्वासअनुसार, पसिना आएको ३ महिनाभित्रै वा त्यसको आसपासमै कुनै ठूलै दुर्घटना वा विपत्तिको सामना मुलुक र मुख्य शासकले भोग्दै आउनु परेका घटनाहरुले यो विषय बुझ्ने वा विश्वास गर्नेहरुको मनलाई निकै नराम्रोसंग झस्काउने गरेका छन्।
भीमेश्वरमा पसिना आउनु कुनै शुभ संकेत हैन मुलुकका लागि। यसले राजनीतिमा परिर्तन, प्राकृतिक प्रकोप वा राष्टाध्यक्ष वा सरकार प्रमुखप्रति अपसगुन लक्षित गर्दछ। विक्रम सम्बत २०११ सालमा पसिना आउँदा राजा श्री ५ त्रिभुवनको अकस्मात देहवसान भएको, २०२७ सालमा पसिना आउँदा श्री ५ महाराजधिराज महेन्द्रमाथि जनकपुरमा बम आक्रमण गरिएको, २०२८ सालमा पसिना आउँदा राजा श्री ५ महेन्द्रको अकस्मात् देहान्त भएको, २०४५ सालको पसिनाको परिणाम भारतीय नाकाबन्दी र २०४६ सालको पसिनाको परिणाम व्यबस्थै परिवर्तन भएको घटनासंग जोडेर हेर्ने गरिएको छ।
यसैगरी २०५२ सालमा आएको पसिनापछि राजा श्री ५ बीरेन्द्रलाई हृदयघात भएको, ५७ सालको पसिनापछि दरबारकाण्ड भई वंशै विनास भएको, ०६१ सालको पसिनापछि राजतन्त्रै सकिएको, ०७१ साल फाुगनमा आएको पसिनापछि २०७२ सालको शुरुमै महाभूकम्प गएको जस्ता घटनाहरुसँग जोडेर गतहप्ता आएको पसिनालाई हेर्ने हो भने अवका तीन महिनाभित्र वा आसपासमा के पो हुने हो भन्ने त्रास लागिरहेकै छ।
हामी सबैलाई सधैव कल्याण गर हे भगवान हामीलाई रक्षा गर देवी द्येउराली, यस क्षेत्रमा बगेका तीर्थ रुपी खोला खोल्सा वा नदी र तलाउ हुन वा हिमालयको देदिप्यता, यी सबै हाम्रा भविष्य सुचकको रुपमा अद्यावधि हामीलाई सूचना दिरहेका हुन्छन् भन्ने हाम्रो विश्वास हो।
हामी सकेजति पाप व्यभिचार गरेर क्षमा गर भगवान भन्दछौं। तर दैवले त्यसो गर्दैन । अन्जानको पापको प्रायाश्चित हुन्छ तर जानाजान गरेको पाप क्षम्य हुँदैन । हे भीमेश्वर ! हामी र हाम्रो देशमात्र नभै सारा जगत्लाई कल्याण गर। फेरि पसिना आएको यो निकै अशुभ संकेतको समयमा म यत्तिमात्र प्रार्थन गर्न सक्छु।
हाम्रा अमूल्य सम्पदा हाम्रा विरासत हुन् हामी हाम्रै प्राचीन संस्कार र सस्कृतिका धनी पनि छौं त्यसैले भीमेश्वरको पसिनाको शक्तिबारे चिन्ता पनि गर्छौं । प्रकृतिलाई देवता मान्ने डाँडाकाँडा माथिको रुखको फेदमा टासिएको ठूलो ढुड्गोलाई सधैं पुकार्ने हाम्रो परम्परा छ।
हामी सबैलाई सधैव कल्याण गर हे भगवान हामीलाई रक्षा गर देवी द्येउराली, यस क्षेत्रमा बगेका तीर्थ रुपी खोला खोल्सा वा नदी र तलाउ हुन वा हिमालयको देदिप्यता, यी सबै हाम्रा भविष्य सुचकको रुपमा अद्यावधि हामीलाई सूचना दिरहेका हुन्छन् भन्ने हाम्रो विश्वास हो।
तर, हाम्रो यस्तो संस्कृतिमाथि निरन्तर प्रहार जारी छ जसका कारण हामी हाम्रा ऋषिमहर्षिद्वारा प्रतिपादित सिद्धान्तलाई मात्र नभै हाम्रै परम्परालाई भुल्न थालेका छौं। काग कराएको होस् या कोइलीको मधुर आवाज होस्, स्याल कराओस् या बाघ कतिबेला कता कराएको होस् यी कुराले शुभ अशुभको संकेत गर्दछन्।
(लेखक डा.अर्याल ज्योतिषविद् हुन्, उनी राजदरबारका पुरोहित थिए, हाल अमेरिकाको भर्जिनियामा बसोबास गर्दछन् ।)
Facebook Comment