दक्षिण अफ्रीकाविरुद्धको टी–२० सिरिज अस्ट्रेलियालाई

काठमाडौँ । दक्षिण अफ्रीकाविरुद्धको जारी टी–२० सिरिज अस्ट्रेलियाले जितेको छ । गएराती सम्पन्न सिरिजको अन्तिम खेल अस्ट्रेलियाले ९७ रनले जितेर सिरिजमा २–१ ले कब्जा गरेको हो । अस्ट्रेलियाले दिएको १९४ रनको लक्ष्य पछाएको दक्षिण अफ्रीकाको टिम १५.३ ओभरमा केवल ९६ रनमा अल आउट भएको थियो ।
दक्षिण अफ्रीकाका लागि भान डेर दुसेनले सर्वाधिक २४ रन बनाए भने हेनरिच क्लासेनले २२ रन बनाएका थिए । अस्ट्रेलियाका बलर मिचेल स्टार्क र एशटोन एगरले ३–३ विकेट लिएका थिए भने एडम जाम्पाले २ तथा पाट कमिन्स र मिचेल मार्शले एक–एक विकेट लिएका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाएको थियो । अस्ट्रेलियाका लागि डेविड वार्नरले सर्वाधिक ५७ रन बनाए भने कप्तान एरोन फिन्चले ५५ रन बनाएका थिए । त्यस्तै स्टिभ स्मिथले अविजित ३० रन बनाए भने मिचेल मार्शले १९ रन बनाए ।
सिरिजको प्लेयर अफ द सिरिज अस्ट्रेलियाका कप्तान एरोन फिन्च बने भने प्लेयर अफ द म्याच अस्ट्रेलियाका बलर मिचेल स्टार्क बनेका छन् । दक्षिण अफ्रिका टुरमा रहेको अस्ट्रेलियाले अब तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । सिरिजको पहिलो खेल २९ फेब्रुअरीमा हुँदै छ ।
Facebook Comment