मलेशियामा कामदारको तलब बढ्यो, सम्झौता अनुसार नभए दूतावासमा उजुरी दिन सकिने
क्लालम्पुर । नेपाल सरकार र मलेसिया सरकारबीच नयाँ श्रम सम्झौता भएसँगै श्रमिकको न्यूनतम तलब पनि बढेको छ । सम्झौता अनुसार बढेको न्यूनतम तलब फेब्रुअरी १ देखि लागू भएको छ । नयाँ सम्झौतामा उल्लेख भएको न्यूनतम तलब नपाएमा उजुरी गर्न नेपाली दूतावासले आह्वान गरेको छ।
नयाँ श्रम सम्झौता भएपछि मलेसिया रहेका श्रमिकहरूको न्यूनतम तलब एक हजार दुई सय मलेसिया रिंगेट भएको छ । कुनै पनि नेपाली श्रमिकले नयाँ सम्झौता अनुसारको तलब नपाएमा नेपाली राजदूतवास मलेसियामा इमेल वा निवेदन पेस गरी तुरुन्तै उजुरी गर्न मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले आग्रह गरेका छन् ।
दूतावासमा उजुरी आएपछि सम्बन्धित कम्पनीलाई इमेल वा चिठी मार्फत नयाँ सम्झौता अनुसारको तलब दिनको लागि चेतावनी दिने र त्यसलाई इन्कार गरे लेबर डिपार्टमेन्टमा उजुरी गरी मलेसिया सरकारको कानुन बमोजिमको कारवाहीको दायरामा ल्याउने समेत राजदूत पाण्डेले बताए ।
दुतावास आउन र निवेदन पेस गर्न असमर्थ भएमा ईमेल eonkualalumpur@mofa.gov.np र हटलाइन ०१६९२४७२७७७ ह्वाटसएपबाट पनि उजुरी गर्न सकिने पनि दूतावासले जनाएको ।
Facebook Comment