हजार करोड लागतमा गुजरातमा विश्वकै अग्लो मन्दिर बन्ने

डिसी नेपाल
१६ फागुन २०७६ ९:४९

काठमाडौं। भारतको गुजरातमा विश्वकै अग्लो मन्दिर बन्ने भएको छ । स्ट्याचु अफ युनिटीको रुपमा विश्वकै अग्लो प्रतिमा, मोटेरा स्टेडियमको रुपमा विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियमपछि अब विश्वकै अग्लो मन्दिर पनि गुजरातमै बन्न लागेको हो । गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य हो । प्रधानमन्त्री बन्नुपूर्व मोदी यही राज्यका मुख्यमन्त्री थिए ।

आज मन्दिरको शिलान्यास हुँदैछ । विश्व उमिया फाउण्डेशनको तर्फबाट अहमदाबादको वैष्णेदेवी जासपुर नजिकै पाटीदारहरुकी कुलदेवी माता उमियाको ४३१ फिट (१३१ मिटर) अग्लो मन्दिर बन्न लागेको हो । शिलान्यासअघि अहमदाबादमा पाटीदारहरुले कार र मोटरसाइकलको भव्य उमिया यात्रा गरेका थिए । यो यात्रामा ५२ गजको झण्डासहित ३७ किलोमिटरको रुट पार गरेर जुलुस मन्दिर निर्माण स्थल पुगेको थियो ।

जानकारीअनुसार यो मन्दिर १०० बिघा क्षेत्रफलमा बन्नेछ । यो मन्दिरको लागत १ हजार करोड अनुमान गरिएको छ । मन्दिर शिलान्यास कार्यक्रममा उमियाका २ लाख भक्त उपस्थित रहने अनुमान गरिएको छ । मन्दिरको डिजाइन जर्मन र भारतीय आर्किटेक्टले मिलेर तयार गरिसकेका छन् । मन्दिरभित्र बीचमा भ्यूइङ ग्यालरी बनाइनेछ जहाँबाट पूरै गुजरातको दृश्य हेर्न पाइनेछ । यो ग्यालरी ८२ मिटर उचाइमा हुने बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *