खप्तड गोल्डकपः हिमालयन शेर्पा सेमिफाइनलमा

धनगढी । हिमालयन शेर्पा क्लब सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको अन्तिम क्वाटरफाइनलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै शेर्पा सेमिफाइनलमा प्रवेश गरेको हो ।
कैलाली हसनपुरस्थित धनगढी रंगशालामा निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा शेर्पाले बाजी मार्यो ।
टाइब्रेकरमा शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने । उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाएका थिए । त्यहिँ पेनाल्टी बचाऊले शेर्पा अन्तिम चारमा पुग्यो ।
गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रुप बहादुर लामा र उत्तम गुरुङले गोल गरेका थिए । शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र बिकास राईले गोल गरे ।
यस खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण समेत पूरा भएको छ । प्रतियोगितामा शेर्पासँगै आयोजक सुदूरपश्चिम–११, एपीएफ क्लब, थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन् । अब शेर्पाले थ्री स्टारसँग खेल्नेछ । यस्तै शनिबार हुने पहिलो सेमिफाइनलमा आयोजक सुदूरपश्चिम-११ र एपीएफ भिड्ने छन् ।
Facebook Comment