विश्वभर फैलिँदै कोरोनाको त्रास

डिसी नेपाल
१७ फागुन २०७६ १७:२८

काठमाडौँ (रासस) । वैज्ञानिकहरूले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्याह्न सम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य सङ्गठनले यस कोभिड–१९ भाइरसको सङ्क्रमण विश्वका ५६ देशमा फैलिएको जनाएको छ । विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा यस भाइरसको सङ्क्रमण भएको बताएको छ । शुरुमा चीनमा मात्र सीमित रहेको यो सङ्क्रमण दक्षिण कोरिया र इरान हुँदै विश्वमा नै फैलिन थालेकाले यस अवस्थालाई विश्व स्वास्थ्य सङ्गठनले नै चिन्तापूर्ण अवस्थाका रूपमा लिएको जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र हुन थालेपछि यो सङ्क्रमण फैलिएका देशबाट आफ्ना देशमा प्रवेश गर्ने तथा फर्किने नागरिकलाई विश्वका सबै देशले विमानास्थलहरूमा नै व्यापक मात्रामा निगरानी बढाएका छन् । यसबाट विश्वको बाह्य तथा आन्तरिक पर्यटकीय गतिविधिहरू प्रभावित हुनेमात्र होइन कि खासमा पर्यटन कार्यक्रमहरूलाई नै उनीहरूले रोकेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को सङ्क्रमणको चिन्ताजनक अवस्था देखिएको पुष्टि गरेको छ । ती बाहेकका पनि विश्वका अरू कैयौँ देशमा यो भाइरस देखिएको छ । ती देशलाई सतर्क रहन उसले चेतावनी पनि दिएको छ । ती देशबाट स्वदेश भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा आवश्यक तयारीहरू गर्न र स्वास्थ्यका कार्यक्रमहरूमा कोरोना रोकथामका कार्यक्रमहरू पनि राख्न उक्त सङ्गठनले सम्बद्ध देशका अधिकारीहरूलाई आग्रह पनि गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले जेनेभामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा महानिर्देशक ट्रेडोसमा एडानोम गेहब्रेयससले कुनै पनि मुलुक कोभिड–१९ को खतराबाट मुक्त रहने अवस्था नरहेको बताए । उनले यो भाइरस आफ्नो देशमा भित्रिँदैन भनेर कोही पनि बस्न नहुने सुझाव पनि दिए । सोही खतरा बमोजिमको कार्यक्रम र कारवाहीलाई अघि सार्न उनले विश्वका सबै देशलाई आग्रह पनि गरे ।

उनले बिहीबारसम्म दक्षिण कोरियामा दुई हजारभन्दा धेरै र जापानमा सात सयभन्दा धेरैमा यो भाइरसको सङ्क्रमण देखिएको पनि पुष्टि गरेका थिए । त्यसैगरी इटालीमा ६५० जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको समाचार प्राप्त भएको पनि सो अवसरमा उनले बताए । विश्व स्वास्थ्य सङ्गठनले बेलायतलगायत युरोपका जर्मनी, फ्रान्स, इटाली र स्पेनमा यसको सङ्क्रमण देखिएको जनाएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीनका अतिरिक्त दक्षिण कोरिया, इटाली, इरान र जापानमा यो सङ्क्रमण हजारौँ बिरामी रहेका छन् । साथै उक्त सङ्गठनले दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र श्रीलङ्कामा पनि यसको खतरा रहेको बताएको थियो । ती देशलाई पनि उच्च जोखिमको व्यवस्थापनमा लाग्न आग्रह गरिएको छ ।

उक्त भाइरसको उत्पत्ति भएको भनिएको मुख्य भूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भइसकेको छ । बिहीबार साँझ ५ बजेपछि शुक्रबार दिउँसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्तिमा सङ्क्रमण भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चीनपछि सबैभन्दा बढी सङ्क्रमण देखिएका मुलुकहरूमा दक्षिण कोरिया पहिलो हो । दक्षिण कोरियामा शुक्रबार मध्याह्नसम्म दुई हजार ३३७ जनालाई यो भाइरसको पुष्टि भएको छ । दक्षिण कोरियामा थप ५७१ जनामा त गएको २४ घण्टाभित्र सङ्क्रमित भएका छन् । दक्षिण कोरियामा उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ । त्यस्तै इटलीमा यस भाइरसका कारण १७ जनाको मृत्यु भइसकेको छ ।

उता इरानमा पनि कोरोनाले महामारीको रुप लिएको छ । स्वास्थ्य अधिकारीहरूले शनिबारसम्म इरानमा २१० जनाको मृत्यु भएको बताएका छन् । जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरस देखिएको छ । जापानमा यसबाट आठ जनाको मृत्यु भएको बताइएको छ । जापानले आगामी मार्च २ देखि देशैभरिका सार्वजनिक विद्यालयहरू बन्द गर्ने जनाएको छ ।जापानले यसै वर्ष ओलिम्पिक खेलकूद प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगिताको आयोजानाका लागि आवश्यक पर्ने विभिन्न ओलिम्पिक मसाल रिले आदि कार्यक्रमहरूमा उसले कटौती गरेको जनाएको छ ।

उता साउदी अरेयिबा सरकारले इस्लाम धर्मावलम्बीको पवित्रस्थल मक्का र मदिना तथा अन्य धार्मिकस्थलको भ्रमणमा पनि रोक लगाएको जनाएको छ । यस्ता स्थलहरूमा विदेशी नागरिकको आगमनमा प्रतिबन्ध लगाउने निर्णय सरकारले गरेको समाचारमा जनाइएको छ । तर साउदी अरेबियामा हालसम्म कोरोना भाइरसको सङ्क्रमण भने देखिएको छैन । विभिन्न देशहरूले यो सङ्क्रमणका विरुद्धमा व्यापक मात्रामा लडिरहेका बेला चिकित्सकहरूले यो सङ्क्रमण फर्किन पनि सक्ने बताएका छन् । निको भएर घर फर्किएका यसका बिरामीमा पुनः यसको सङ्क्रमण देखिएको जापान र चीनबाट प्राप्त केही समाचार विवरणहरूमा जनाइएको छ । वैज्ञानिकहरू यस प्राणघातक सङ्क्रमणको औषधिको खोजीमा लागेका छन् । तर अहिलेसम्म सम्भव भएको छैन । उता विश्वका कैयौँ देशमा यसको सङ्क्रमण फैलिइरहेको छ र यसबाट विश्व नै त्रसित बनेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *