खप्तड गोल्डकपः सुदूरपश्चिम–११ फाइनलमा, एपीएफ पराजित

धनगढी । आयोजक सुदूरपश्चिम–११ सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शनिबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो ।
सुदुरपश्चिम–११ को जितमा बिक्रम सिंह ठकुरीले दुई गोल गरे । एपीएफका आशिष लामाले एक गोल फर्काए । अब, उपाधिका लागि आयोजक सुदूरपश्चिमले थ्री स्टार र हिमालयन शेर्पा क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ । रोमान्चक बनेको खेलको तीनै गोल पहिलो हाफमा भएको थियो ।
घरेलु समर्थकको साथ पाएको सुदुरपश्चिमले एपीएफविरुद्ध खेलको आठौं मिनेटमा अग्रता बनायो । दिपेङले डिबक्स भित्रबाट उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । उनले एपीएफका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरेका थिए ।
यस्तै खेलको ११ औं मिनेटमा दिपेङले व्यक्तिगत दोस्रो गोल गर्दै सुदुरपश्चिमलाई २–० को अग्रता दिलाए । त्यसपछि खेलको २४ औं मिनेटमा एपीएफका आशिषले गोल गर्दै खेल २–१ मा ल्याए । दोस्रो हाफमा दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल सुदुरपश्चिमले २-१ ले आफ्नो बनायो ।
यससँगै सुदुरपश्चिमले पहिलो पटक प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ । अघिल्लो संस्करणमा भने सुदुरपश्चिम एपीएफसँग नै पराजित भएको थियो । यस पटक भने एपीएफसँग बदला लिँदै सुदुरपश्चिम फाइनल पुग्न सफल भयो । खेलको म्यान अफ दि म्याच सुदुरपश्चिमका बिक्रम चुनिए ।
Facebook Comment