खेलकुद विकासको अग्रसरता खेल सङ्घले लिनुपर्दछ : मन्त्री विश्वकर्मा

डिसी नेपाल
१७ फागुन २०७६ १९:१३

कास्की । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासका लागि सम्बन्धित खेल सङ्घले अग्रसरता लिनुपर्ने र सरकार त्यसमा सघाउन प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल हक्की सङ्घको आयोजनामा शनिबारदेखि पोखरामा शुरु भएको ‘सहाना प्रधान स्मृति’ दोस्रो राष्ट्रिय महिला हक्की प्रतियोगिताको उद्घाटन गर्दै उनले हक्की खेल लोकप्रिय भए पनि कम महत्व पाएकाले आगामी दिनमा राष्ट्रिय, प्रदेश, जिल्ला तथा पालिकास्तरमा प्रतियोगिता गर्नका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

खेल क्षेत्रको समृद्धिबाट ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा र लक्ष्यलाई पूरा गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री विश्वकर्माले भने, “खेलको विकासका लागि सम्बन्धित खेल सङ्घले अग्रसरता लिनु सङ्घको दायित्व हो । त्यसलाई साकार पार्न सरकार साथमा छ ।” एक वर्षको अवधिमा देशका विभिन्न स्थानमा खेललाई आवश्यक दीर्घकालीन महत्वका खेल संरचनाको विकास भएको बताउँदै मन्त्री विश्वकर्माले खेलकुदमा रहेको पूर्वाधार अभावको परिपूर्ति भएको उल्लेख गरे ।

‘एक स्थानीय तह एक खेल ग्राम’ स्थापनाको नीति कार्यान्वयनका लागि हालै पहिलो चरणमा देशका ८४ स्थानीय तहमा स्थानीयस्तरको रङ्गशाला बनाउन मन्त्रालयबाट छनोट गरिएको जानकारी दिँदै उनले खेलाडीको हितका लागि सरकार लागिपरेको स्पष्ट पारे ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) तालीम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुनबहादुर विश्वकर्माले खेलकुदका माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सकिने भएकाले विकासका लागि पूर्वाधारमा जोड दिइएको बताए । आगामी फागुन २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेश, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५, सुदुरपश्चिम प्रदेश र विभागीय नेपाली सेना गरी छ टोलीको सहभागिता छ ।

लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार तथा तृतीय हुने टोलीले रु १५ हजार पुरस्कार प्राप्त गर्ने नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले बताए ।

प्रतियोगिताले आगामी वर्ष पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकुदलाई समेत सहयोग पुग्नेछ । पोखरामा हालसम्म हक्कीको पूर्वाधार निर्माण नभएकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गरिएको सङ्घ कास्की शाखाका महासचिव एकराज गिरीले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाली सेनाको टोलीले गण्डकी प्रदेशको टोलीलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भयो । त्यसैगरी सुदुरपश्चिम प्रदेश र प्रदेश नं ५ बीच भएको दोस्रो खेल बराबरीमा टुङ्गिएको छ । बराबरीपछि दुवै टोलीले एक÷एक अङ्क बाँडेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *