योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग
काठमाडौं । राष्ट्रगुरु योगी नरहरिनाथलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरिएको छ । योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले शनिबार यहाँ आयोजना गरेको १०७औँ जन्मजयन्ती तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी हरिहरानन्द सरस्वतीले प्राचीन इतिहासलाई उत्खनन् र उजागर गर्न उनको अविस्मरणीय योगदान रहेको बताए ।
योगी नरहरिनाथको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले योगीले लेखेका पुस्तक संरक्षण एवं संवद्र्धनका लागि कोषले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रा डा रत्नकमल वैद्यले उनलाई राष्ट्रिय विभूति घोषणाका लागि दबाब दिनुपर्ने बताए । प्रा डा सुषमा आचार्यले युवावर्गमा आध्यात्मिक शिक्षा नहुँदा विदेशिएकाले नैतिक र संस्कृत शिक्षालाई अनिवार्य बनाइनुपर्नेमा जोड दिईन् ।
इञ्जिनीयर प्रा देवीप्रसाद चापागाईंले राजाको प्रत्यक्ष शासनका बेलामा पनि राजाकै गलत क्रियाकलापको विरोधमा सार्वजनिक रुपमा बोल्न सक्ने व्यक्तित्व योगीबाट पाठ सिक्नुपर्ने बताए । योगी नरहरिनाथ र बालागुरु षडानन्द अधिकारीलाई राष्ट्रिय विभूति घोषणा गर्न पनि उनले माग गरे ।
कार्यक्रममा परिषद्का अध्यक्ष शङ्कर पौडेल, उपाध्यक्ष दिवाकरविक्रम शाह, सम्मानित व्यक्तित्व हर्कबहादुर तामाङलगायतले पनि योगीलाई राष्ट्रिय विभूति घोषणा गर्न ढिलाइ गर्नु नहुनेमा जोड दिएका थिए । सो अवसरमा डा खतिवडा, प्राडा वैद्य, प्रा डा आचार्य, इ प्रा चापागाईं र तामाङलाई उनिहरुले विभिन्न क्षेत्रमा पु¥याएको योगदानका लागि सम्मान गरिएको थियो ।
Facebook Comment