चीनमा घटेसँगै विश्वभर बढ्यो कोरोना संक्रमण, ८३ हजार बढी संक्रमित
काठमाडौँ । दैनिकजसो विश्वभर बढिरेहको कोरोना भाइरसको संक्रमणबाट आइतबार बिहानसम्म ३ हजार बढिको ज्यान गएको छ।
सुरुमा संक्रमण देखिएको कोरोना भाइरसबाट हालसम्म चीनमा मात्रै २ हजार ८ सय ७० जनाको मृत्यु भएको छ । शनिबार ५७३ जना नयाँ संक्रमित फेला परेसँगै चीनमा संक्रमित हुनेको संख्या ७९ हजार ८ सय २४ पुगेको छ ।
चीनमा पछिल्लो साता संक्रमितको संख्या घट्न थालेको छ भने मृत्यु हुनेको संख्या पनि घट्दै गएको छ । शनिबार चीनमा ३५ जनाले ज्यान गुमाएका छन् ।
केहीदिनदेखि चीनमा कोरोना संक्रमण घट्दै गएको छ भने चीन बाहिर फैलिँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। संगठनका अनुसार आइतबार बिहानसम्म विश्वभर ८३ हजार बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
चीन बाहिर इरान, जापान, दक्षिण कोरिया र इटलीमा कारोना संक्रमितको संख्या निकै बढेको छ।
आइतबार बिहानसम्म चीन बाहिर इरानमा २१०, दक्षिण कोरियामा १३, इटलीमा १२, जापानमा ५, फ्रान्समा २, संयुक्त राज्य अमेरिकामा १, हङकङ्मा १, फिलिपिन्समा १ र डायमण्ड प्रिन्सेसमा ४ जनाको ज्यान गएको छ।
चीनबाट फैलिएर कोरोना संक्रमणबाट दक्षिण कोरियामा सबैभन्दा बढी मानिस संक्रमित भएका छन्। आइतबारसम्म कोरियामा २५ सय बढी संक्रमित भएको पुष्टी भएको छ।
यस्तै जापानमा पनि संक्रमितको संख्या निकै बढेको छ । जापानमा आइतबार बिहानसम्म ९ सय ५३ जना संक्रमित भएको जापानी स्वास्थ्य विभागले जनाएको छ।
कोरोनाको संक्रमण बढेसँगै दक्षिण कोरिया र जापानका अति प्रभावित स्थानका थप संक्रमण बढ्न नदिन विद्यालयहरु बन्द गरिएका छन् ।
विश्वभर कोरोनाको संक्रमण बढेसँगै नेपाल सरकारले भ्रमण वर्ष २०२० को प्रचारप्रसारका सबै कार्यक्रम स्थगित गरेको छ।
कोरोनाले चीनलगायत विश्वका थुप्रै देशमा असर पारिरहेको भन्दै सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको पर्यटन बोर्डले जनाएको छ।
Facebook Comment