गुडविल फाइनान्सले २५ करोडको ऋणपत्र जारी गर्दै

डिसी नेपाल
१८ फागुन २०७६ ११:०३

काठमाडौं। गुडविल फाइनान्सले २५ करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ। सात वर्षे अवधिको उक्त ऋणपत्रको बार्षिक व्याजदर १२ प्रतिशत रहेको छ।

आगामी फागुन २८ गतेबाट ऋणपत्रका लागि आवेदन खुल्ला भई छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते बन्द हुने कम्पनीले जनाएको छ।
एक हजार रुपैयाँ अंकित उक्त ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन गर्न सकिनेछ।

फाइनान्सले जारी गरेको कूल ऋणपत्रमध्ये १५ करोड रुपैयाँ बराबरको व्यक्तिगत तवरबाट बिक्री गरिनेछ। त्यसबाट बाँकी रहेको १० करोड ऋणपत्रमध्ये ५ प्रतिशत सामुहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी ९ करोड ५० लाख रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।

कम्पनीले जारी गर्न लागेका ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपि एल डबल बि’ क्रेडिट गरेको छ । यो मध्यम किसिमको सुरक्षाको सूचक जनाउने रेटिङ हो।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत फाइनान्सले पनि ऋणपत्र निष्कासन गर्ने पाउने व्यवस्था गरेको थियो। ऋणपत्र जारी गर्ने गुडविल पहिलो फाइनान्स कम्पनी भएको छ। संस्थाको पुँजी ८० करोड रहेको छ।

कम्पनीमा संस्थापक शेयरधनीको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहेको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले दिर्घकालिन लगानीका लागि पुँजी जुटाउन ऋणपत्रलाई प्रयोग गर्दै आएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *