पत्रकार ढुंगाना र सिंह ईन्जा सामुदायिक पत्रकारिताबाट सम्मानित, ईन्जा स्रष्टा पुरस्कार रेग्मीलाई

काठमाडौँ । नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (ईञ्जा) ले प्रदान गर्दे आएको इन्जा सामुदायिक पत्रकारिताबाट यस वर्ष अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंह सम्मानित भएका छन् ।
ईन्जाको दोस्रो स्थापना दिवसको अवसरमा आइतबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा पत्रकारद्दय ढुंगाना र सिंहलाई संयुक्त रुपमा प्रदान गरिएको हो। दुवैलाई जनही ५ सय डलर रुपैयाँ प्रदान गरिएको छ।
मेनुकाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र प्रकाशको हिमाल खबर साप्ताहिकमा प्रकाशित ‘कुपोषित बाजुरा’ शिर्षकको समाचार उत्कृष्ट छनोटमा परेका हुन् । पत्रकार तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटाको छनौट समितिले निर्धारण गरेको मापदण्ड अनुरुप दुवै समाचारले बराबर नम्बर प्राप्त गरेकाले संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय भएको इन्जाले गरेको थियो । सन् २०१९ मा प्रकाशित ३ सय ५१ वटा समाचार तथा फिचरबाट उनीहरुको समाचार छानिएको थियो । अघिल्लो वर्षको ईन्जा सामुदायिक पत्रकारिता पुरस्कार हाम्रा कुरा डटकमका सम्पादक अजय वावु शिवाकोटीले पाएका थिए ।
त्यस्तै कार्यक्रममा १ हजार डलर राशीको इञ्जा स्रष्टा सम्मानबाट नेपाली भाषाको झर्रोवादी आन्दोलनका अगुवा चुणामणि रेग्मी चुमरेलाई प्रदान गरिएको थियो।
कार्यक्रममा पत्रकारिता क्षेत्रमा लामो समय कार्यरत पत्रकारहरु नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्ट, राष्ट्रिय सूचना अयोगका पूर्व आयुक्त किरण पोखरेल, न्यूज एजेन्सी नेपालकी अध्यक्ष कृष्णा पौडेल, समाचारपत्र दैनिकका सम्पादक कपिल काफ्ले, नेपाल प्रेस काउन्सिलकी सदस्य संगीता खड्कालाई इञ्जा सम्मानबाट सम्मानित गरिएको थियो।
त्यसैगरि कार्यक्रममा ब्लड क्यान्सरबाट पीडित पत्रकार कमल पौडेलको उपचार सहयोगार्थ उनकी पत्नी अम्बिका पौडेललाई १४ लाख ११ हजार २ सय ४४ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको थियो। यो रकम डिसी नेपाल डटकम, इनेप्लिज डटकम र इञ्जाको संयुक्त आव्हानमा संकलन गरिएको थियो।
कार्यक्रममा नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल प्रमुख अतिथिका रुपमा थिए । त्यस्तै अमेरिकाबाट र्इन्जाका केन्द्रीय अध्यक्ष गुणराज लुइँटेलको पनि विशेष सहभागिता थियो ।
Facebook Comment