प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन ‘खाँटी माओवादी’

डिसी नेपाल
१८ फागुन २०७६ १७:०८

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आइतबार जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाको सिञ्जाका रतन तिरुवा रहेको खुलेको छ। उनी कम्युनिष्ट रहेको उनको फेसबुक अकाउण्टबाट अनुमान गर्न सकिन्छ। कम्युनिष्ट नेताहरु माक्र्सदेखि एंगेल्ससम्मका तस्वीरहरुलाई उनको फेसबुकमा वाल तस्वीर बनाइएको छ।

उनले पछिल्लो पटक आफ्नो प्रोफाइल तस्वीर राख्दै लेखेका छन्, ‘माक्र्सवादको चरम दुरुपयोग।’

यतिमात्र होइन उनको इन्ट्रोमा लेखिएको छ, ‘जब सम्म सामन्तबादी,र पुजीवादी,दुष्ट हरुको अन्ते हुदैन तबसम्म सर्बहारा वर्गकोअधिनायकत्व प्राप्त हुँदैन।’
आइतबार राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा तत्कालीन नेकपाका दिवंगत नेता पूर्वमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति दिवसमा उनी प्रमुख अतिथिको रुपमा बोलाइएका थिए।

आफ्नो सम्बोधन सकेपछि प्रचण्ड बस्दै गर्दा उनलाई ताकेर दर्शकदीर्घाबाट जुत्ता प्रहार भयो। जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले तत्कालै नियन्त्रणमा लियो। प्रहरीले ती युवक जुम्लाका रतन तिरुवा रहेको बतायो। तर, यसरी जुत्ता प्रहार गर्नुको पछाडि उनको उद्देश्य के थियो भन्ने विषयमा भने प्रहरीले अनुसन्धान भइरहेको जनाएकाे छ।

स्रोतका अनुसार माओवादीले चलाएको १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा रतनका बाबु मारिएका थिए।

प्रचण्डमाथि प्रहार भएको यो पहिलो घटना भने होइन यसअघि बागलुङका पदम कुँवरले पनि प्रचण्डलाई थप्पड हानेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *