उद्योगका कारण गाउँमा पानी दूषित
सर्लाही । सर्लाहीको हरिवन–५ मा इन्दुशङ्कर चिनी उद्योग लिमिटेडका कारण जमिनमुनिको पानी दूषित बनेको स्थानीयकोे आरोप छ । उद्योगबाट निस्कने केमिकलयुक्त फोहर पानी गाउँ नजिकैको लखन्देही खोलामा अव्यवस्थित रुपमा छाड्दा गाउँमा पिउने पानी दूषित भएको हरिवन नगरपालिका–५ का वडाध्यक्ष नागेन्द्र साहले बताए ।
फोहोर पानीका कारण गाउँमा प्रदूषण बढेको भन्दै वर्षौंदेखि स्थानीयवासीले विरोध गर्दै आएका छन् । करिब ६÷७ वर्ष हिलादेखि नै गाउँका केही चापाकलमा पहेँलो पानी आउन थालेको स्थानीयवासी अमरलाल तामाङले बताए । “अहिले गाउँका कुनै पनि चापाकलको पानी पिउन योग्य छैन,” तामाङले बताए । “सबैजसो चापाकलहरुमा गनाउने पहेँलो रङ्गको धमिलो पानी आउने गरेका कारण आफूहरु शुद्ध पिउने पानी पिउनबाट वञ्चित भएको अमिरिलाल महत्तोले बताए ।
उनका अनुसार अहिले ती चापाकलहरुको पानीले नुहाउँदा जीउमा डाबर आउने र एलर्जी हुने साथै लुगा धुँदा पनि सफा नहुने गरेको छ । क्यान्सरको त्रासका कारण केही समय यता अधिकांश स्थानीयले चापाकलको पानी पिउनै छाडेका छन् । भाँडामा थापेर राख्दा पानीमा पहेँलो तर लाग्ने गरेको उनीहरुको भनाइ छ ।
विसं २०७३ मा गाउँका चापाकलहरुको पानी जाँच गर्दा आर्सेनिक फेला परेको प्राविधिकले बताएका थिए भने आवश्यकभन्दा बढी आर्सेनिक रहेको भन्दै प्राविधिकहरुले चापाकलको पानी पिउनयोग्य नरहेको रिर्पोट दिएको वडाध्यक्ष साहले बताए । तर अन्य विकल्प नहुँदा स्थानीयले चापाकलको पानी प्रयोग गर्न बाध्य भएर पिउन छाडेनन् । जसका कारण अहिले गाउँमा क्यान्सर रोगको सङ्क्रमण देखा परेको छ ।
स्थानीयवासीको विरोधपछि उद्योगले केही वर्षअघि गाउँका केही चापाकलको पानीको नमूना परीक्षणका लागि लगेको थियो । तर, त्यसको रिपोर्ट अहिलेसम्म सार्वजनिक गरिएको छैन । स्थानीयको विरोधपछि उद्योगले गाउँमा ६३ फिट गहिरो ट्युबवेल गाडिदिएको छ । त्यही ट्युबवेलको पानी ३÷३ हजार लिटर क्षमताका चारवटा ट्याङ्कीमार्फत गाउँमा वितरण हुँदै आएको छ । तर, स्थानीय उद्योगले राखेको ट्याङ्कीको पानीसमेत खानयोग्य छ भन्नेमा विश्वास छैन । गाउँका ७५ प्रतिशत स्थानीयले उद्योगले राखिदिएको ट्याङ्कीको पानी खाँदैनन् । उनीहरूले जारको पानी किनेर खाने गरेका छन् ।
Facebook Comment