अस्पताल र स्वास्थ्य संस्थामा मास्कको चरम अभाव
काठमाडौं। कोरोना भाइरसले विश्वभर आतंक मच्चाएपछि सरकारले भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको छ। कोरोना भाइरस विरुद्ध उच्च सतर्कता अपनाउन सरकारले उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलेको संयोजकत्वमा उच्चस्तरीय समिति पनि बनाएको छ।
कोरोना भाइरस भएको आंशकामा दुई जनालाई टेकुस्थित शुक्रराज ट्रापिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका दुई जना नेपालीमा लक्षण कोरोनासँग मिल्दोजुल्दो देखिएपछि आइसोलेसनमा राखिएको हो ।
सरकारले कोरोना भाइरस विरुद्ध उच्च सतर्कता अपाउने तयारी गरिरहँदा अस्पताल र स्वास्थ्य संस्थामा भने मास्कको चरम अभाव भएको छ। प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपण गर्ने त्रिवि शिक्षण अस्पतालमा मास्कको चरम अभाव भएको हो।
१४ सय कर्मचारी कार्यरत टिचिङ अस्पतालमा एउटै मास्कले पाँच दिन धान्नुु पर्ने अवस्था रहेको अस्पताल स्रोतले जनाएको छ।
‘यहाँ १४ सय कर्मचारी कार्यरत छन्। मास्कको अभावले पाँच दिनमा एक पटक मास्क वितरण गर्ने गरिएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘यहाँ मात्रै नभएर वीर अस्पताललगायतका अस्पताल र स्वास्थ्य संस्थामा मास्कको चरम अभाव भएको छ।’
पाँच दिनसम्म एउटै मास्क लगाउँदा मास्ककै कारणले विमारी हुने अवस्था रहेको कर्मचारीले गुनासो गर्ने गरेका छन्। ‘मास्क नलगाए संक्रमण हुने डर, लगाउँदा मास्ककै कारणले विरामी हुने अवस्था छ,’ एक कर्मचारीले भने।
प्रधानमन्त्री ओली मृगाैला प्रत्याराेपण गर्न साेमबार टिचिङ अस्पतालमा भर्ना हुँदैछन्। यही अस्पतालमा मास्ककाे चरम अभाव भएकाे हाे।
केही समय अगाडि नेपाली व्यापारी र केही संघ संस्थाले कोरोना भाइरससँ लडिरहेको चीनलाई मास्क सहयोग गरेका थिए। तर मुलुकभित्रै मास्कको चरम अभाव हुँदा कसैले ध्यान नदिएको उनीहरुको गुनासो छ।
Facebook Comment