गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा दर्ता
काठमाडौं। गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ।
पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेकोे निजी विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो। सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउने उल्लेख छ।
तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधीय गुण भएकाले किसानहरुको सँगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए। गाँजामाथि लागेको प्रतिवन्ध फुकुवा भएमा युवाहरु विदेशीनु पर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवसरहरु सिर्जना हुने उनले बताए।
विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधीय गुण हुने भनिसकेको अवस्थामा नेपालपनि यसमाथि लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने उनले बताए। अमेरिका क्यानडा लगायत विश्वका ४० मुलुकहरुले गाँजामाथिको प्रतिवन्ध फुकुवा गरेको छ।
कानूनमा उत्पादनका सीमा, प्रयोगका सर्तहरु उल्लेख भएकाले जथाभावी नहुने उनले बताए। गाँजा उत्पादनको क्षेत्र विद्यालय भवन र बालकेन्द्रभन्दा १ किलोमिटरको दूरीमा हुनुपर्ने विधेयकमा उल्लेख गरिएको छ। सांसद तामाङले नेपालीहरुले चिकित्सकको सिफरिसबिना प्रयोग गर्न नपाउने बताए।
Facebook Comment