एमयूले पायो ६ महिनापछि उपकुलपति

डिसी नेपाल
२० फागुन २०७६ ९:५४

सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले ६ महिनापछि उपकुलपति पाएको छ। लामो समयसम्म विश्वविद्यालय उपकुलपतिविहीन थियो।  विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्राध्यापक डा. नन्दबहादुर सिंहलाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

यसअघि गत असोज ६ गते तत्कालीन उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको कार्यअवधि सकिएको थियो। त्यसयता विश्वविद्यालयमा उपकुलपति नियुक्ती हुन सकेको थिएन। उपकुलपति नहुँदा विश्वविद्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो। लामो प्रयासपछि कालिकोट स्थायी घर भएका सिंहलाई उपकुलपतिमा नियुक्त गरिएको हो।

नवनियुक्त उपकुलपति सिंहले आज (मंगलबार) मात्रै औपचारिक नियुक्ती बुझ्ने छन्। उपकुलपतिमा नियुक्त भएपछि सिंहले विद्यार्थी केन्द्रीत अध्ययन प्रणालीको विकास गर्ने बताए।

उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालयलाई देशकै नमूना विश्वविद्यालय बनाउने छौं, कर्णालीको माटो सुहाउँदो उच्चशिक्षा सहज रुपमा प्रदान गर्ने हाम्रो प्रयत्न रहनेछ।’ आफू कर्णालीवासी भएकाले पनि सबैसँग सहकार्य गरेर विश्वविद्यालयलाई नमूना बनाउने उनको भनाइ छ।

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेका सिंहले टोकियो विश्वविद्यालयबाट सन् २००२ मा पीएचडी गरेका छन्।
नवनियुक्त उपकुलपति नेकपा (पूर्वएमाले) निकट हुन्।

सरकारले अर्काे व्यवस्थान हुन्जेलसम्मका लागि विश्वविद्यालयकै व्यवस्थापन संकायका डीन डा.मस्तबहादुर गरंजालाई निमित्त उपकुलपतिको रुपमा नियुक्त गरेको थियो।

डा.उषा झा नेतृत्वको सर्च कमिटीले केही महिना अगाडि प्रधानमन्त्रीलाई विश्वविद्यालयको उपकुलपतिका लागि गरेको सिफारिशका आधारमा सिंह उपकुलपति नियुक्त भएका हुन्। सर्च कमिटीले सिंहसँगै जनार्दन लामिछाने र केशरसिंह राना गरी तीन जनाको नाम सिफारिस गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *