श्रम मन्त्रालयले भन्योः श्रम स्वीकृति बन्द भएको छैन

डिसी नेपाल
२० फागुन २०७६ १९:४१

काठमाडौं। सरकारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति बन्द नगरिएको बताएको छ। यो विषयमा कुनै निर्णय नभएको सरकारले जनाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले श्रम स्वीकृति बन्द गर्ने कुनै औपचारिक निर्णय नभएको बताए।

विश्वभरी नै कोरोना भाइरस (कोभिड—१९)को संक्रमण फैलिएको सन्दर्भमा नेपाल सरकारले श्रम स्वीकृति बन्द गरेको चर्चा भइरहेका बेला श्रममन्त्री यादवले कुनै औपचारिक निर्णय नभएको बताएका हुन्।

‘स्वीकृति रोकिएको छैन। अहिलेको विषम परिस्थितिमा कुनै श्रमिकले दुःख नपाउन, बाटैबाट फर्किन नपरोस, ट्रन्जिट प्वाइन्टमा दुःख नपाउन भन्नका लागि गृह र स्वास्थ्यमन्त्रालयसँग निरन्तर छलफल भइरहको छ। चारैतिर नियमित सम्पर्क गरिरहेका छौँ। औपचारिक कुनै निर्णय भएको छैन्’, उनले भने ।

उनले अगाडि थपे, ‘२, ३ वटा विकल्पमा यसलाई रि सेड्युल गर्ने हो की भन्ने विषयमा छलफल चलेको छ। मान्छेले दुःख नपाउने वातावरण कसरी सिर्जना गर्ने त्यसका लागि ब्यापक छलफल चलिरहेको छ।’

आइतबारको मन्त्रिपरिषद् बैठकले उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुको अध्ययन अनुमति पत्र वितरण भने बन्द गरेको छ। नेपाल भ्रमण वर्ष २०२०, सगरमाथा सम्बाद लगायतका कार्यक्रमहरु पनि सरकारले तत्काललाई नगर्ने निर्णय गरेको छ। चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका अधिकांश मुलुकमा फैलिएको छ । यद्यपी नेपालमा भने कोरोनाको संक्रमण देखिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *