रुघाखोकी तथा ज्वरो आएका यात्रुलाई विमानस्थल नजान आग्रह
काठमाडौँ । बुद्ध एयरले कोरोना भाइरसको मुख्य लक्षण रुघाखोकी तथा ज्वरो आएका यात्रुलाई विमानस्थलमा नआउन आग्रह गरेको छ । कम्पनीले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै रुघाखोकी तथा ज्वरो आएका व्यक्ति तथा आफन्तजनले हवाई यात्रा नगर्न तथा विमानस्थलमा पनि नआउन आह्वान गरेको हो । कम्पनीले टिकट काटिसकेका यात्रुमा पनि त्यस्तो समस्या भएमा बरु यात्रा रद्द गर्न सुझाउँदै टिकट रद्द गरेबापत नियमानुसार भाडा फिर्ता गरिने जनाएको छ ।
कोरोना भाइरसको प्रकोप संसारभरि नै फैलिरहेकाले त्यसका लागि सबैले सावधान अपनाउनै पर्ने हुँदा मुख्य लक्ष्यण देखिएका व्यक्तिले जहाजको यात्रा नगर्न र विमानस्थल नगइदिन सूचनामा भनिएको छ ।
यसअघि सोमबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक विज्ञप्ति जारी गर्दै विमानस्थलबाट आवतजावत गर्ने सबै हवाई यात्रुलाई स्वागत तथा बिदाइ गर्न आउने आफन्तजन लगायतलाई अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल क्षेत्रमा प्रवेश नगरिदिन र अत्यावश्यक काममा आउने सबैले मास्क प्रयोग गरिदिन पनि अनुरोध गरेको थियो ।
साथै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै विमानस्थलबाट यात्रुको सुविधाका लागि उपलब्ध गराउँदै आएको ‘भिजिटर पास’ वितरण बन्द गरेको गरिएको विमानस्थलले जनाएको छ ।
Facebook Comment