नीति निर्माणका लागि भूमिका निर्वाह गर्ने नवनिर्वाचित सांसदको प्रतिवद्धता
काठमाडौं। नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरुले राष्ट्रियसभाको गरिमा कायम राख्दै नीति निर्माणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएका छन्। नवनिर्वाचित राष्ट्रियसभा सदस्य विमला घिमिरेले सपथ ग्रहणपछि बोल्दै अनुशासित भएर आफ्नो कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाए।
सिंङ्गो नेपाली जनताको हित र राष्ट्रलाई सर्वोपरि राखेर गर्नुपर्ने सबै कुराहरुलाई नैतिक धरतल भित्र रहेर पूरा गर्ने प्रतिवद्धता उनले गरे।
अर्का सदस्य देवेन्द्र दाहालले आफू निर्वाचित भएर आएको क्षेत्रका जनताप्रति उत्तरदायि भएर देशको नीति निर्माणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। नीति निर्माणका साथै विकासको क्षेत्रमा पनि आफने भूमिका रहने उनले बताए।
अर्का सदस्य मृगेन्द्रकुमार सिंहले प्रतिनिधिसभा र राष्ट्रिय पञ्चायतको आफ्नो अनुभवका साथ राष्ट्रियसभाको गरिमा कायम राख्दै आफूले कार्यसम्पादनमा भूमिका खेल्ने बताए। राष्ट्रियसभा परिपक्व संसद भएकाले विचारहरु परिपक्व आउनुपर्ने र निर्णय पनि परिपक्व ढंगले हुनुपर्ने उनले बताए।
राष्ट्रियसभा सदस्यहरुले बुधबार पद तथा गोपनीयताको सपथ दिएका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पद तथा गोपनियताको सथप ग्रहण गराका हुन्।
Facebook Comment