आर्मी र प्रदेश नं ५ महिला राष्ट्रिय हक्कीको फाइनलमा

कास्की । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश नं ५ पोखरामा जारी दोस्रो संस्करणको ‘सहाना प्रधान स्मृति’ राष्ट्रिय महिला हक्की प्रतियोगिताको फाइनलमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
नेपाल हक्की सङ्घद्वारा यही फागुन १७ गतेदेखि पोखरा रङ्गशालाभित्रको आर्चरी खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा आज सम्पन्न सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरी प्रदेश नं ५ फाइनलमा पुगेको हो । विभागीय टोली आर्मी भने सुदूरपश्चिम प्रदेशलाई पराजित गरी यसअघि नै फाइनलमा प्रवेश गरेको थियो । मङ्गलबार मौसममा आएको खराबीले गण्डकी र प्रदेश नं ५ बीचको खेल दोस्रो हाफपछि स्थगन गरिएको थियो ।
आज नै तेस्रो स्थानका लागि भएको प्रतिष्पर्धामा गण्डकी प्रदेशलाई पेनाल्टी स्ट्रोकमा ४–२ गोलअन्तरले पराजित गरी सुदूरपश्चिम प्रदेशले तृतीय स्थान हासिल गर्न सफल भएको प्रतियोगिता संयोजक एवं नेपाल हक्की सङ्घका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।
खेल अवधिभर दुवै टोलीले एक/एक गोल गरेका थिए । विभागिय टोली नेपाल आर्मीसहित प्रदेश नं ५, सुदूरपश्चिम, प्रदेश २, प्रदेश–१ र गण्डकी प्रदेश गरी छ टोलीले प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगिताको फाइनल खेल बिहीबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ । विजेताले रु ५० हजार, उपविजेताले रु ३० हजार तथा तृतीय हुने टोलीले रु १५ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ । प्रतियोगिताले आगामी वर्ष पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकूदलाई सघाउने विश्वास आयोजकको छ ।
Facebook Comment