गैँडाकोटका जनप्रतिनिधिले सेवा सुविधा नलिने

डिसी नेपाल
२१ फागुन २०७६ २२:०८

नवलपुर । गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सेवा सुविधा नलिने भएका छन् । नगरपालिकाको आज सम्पन्न छैठौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गरेको सेवा सुविधा लिने बारेको प्रस्ताव नगरसभाले खारेज गरेको हो ।

जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने संवैधानिक व्यवस्था भएकाले केही राहत मिलोस् भनेर समिति बनाएर सुविधा उपलब्ध गराउने तयारी गरिएको भए पनि नगरसभाले उक्त प्रस्ताव अस्वीकृत गरेको नगरप्रमुख पौडेलले बताए । त्यस्तै सो नगरसभाले लेखा, सुशासन र विधेयक समिति गठन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ ।

त्यस्तै नगरप्रमुख पौडेलले सभामा प्रस्तुत गरेको गैँडाकोट नगर शिक्षा विधेयक २०७६ अस्वीकृत भएको उनले जानकारी दिए । नगरमा आर्थिक पारदर्शिता राख्न, सुशासन कायम गर्न तथा आवश्यक विधान बनाउनका लागि निर्माण गरिएको समिति नगरसभाले खारेजी गरेको प्रति नगरप्रमुखले दुःख व्यक्त गरे । त्यस्तै शिक्षा सर्वसुलभ होस् भनेर ल्याइएको विधेयक अस्वीकृत भएको पौडेलको भनाइ छ ।

नगर उपप्रमुख विष्णुकुमारी कँडेलले काँग्रेसका मान्छे समितिमा नराखिएको भन्दै आफूहरुले नगरसभाबाट सबै प्रस्ताव अस्वीकृत गरेको बताईन् । नगरसभामा काँग्रेसको दुई तिहाइ भएको अवस्थामा नगरप्रमुखले बनाएको समितिमा काँग्रेस निकटका मान्छे नभएकाले प्रस्ताव अस्वीकृत गरिएको उनको भनाइ छ ।

नगर प्रमुख पौडेलले भने समितिमा काँग्रेस, नेकपा र जनमोर्चाबाट निर्वाचित भएका जनप्रतिनिधिलाई राखिएको बताए । गैँडाकोटको २८ सदस्यीय नगर कार्यपालिकामा १८ जना काँग्रेसबाट छन् भने ९३ सदस्यीय नगरसभामा ६८ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *