१३० व्यवसायीलाई एक साताभित्र उपस्थित हुन निर्देशन
काठमाडौं। राजस्व अनुसन्धान विभागले १३० व्यवसायिक फर्म तथा कम्पनीलाई एक साताभित्र उपस्थित हुन निर्देशन दिएको छ।
राजस्व चुहावट सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेका कम्पनीहरु सम्पर्कमा नआएपछि विभागले सार्वजनिक सूचनामार्फत चेतावनी दिएको हो।
बिहीबार सार्वजनिक सूचना प्रकाशित गरी एक साताभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको हो।
विभागले तोकेको समयसीमाभित्र सम्पर्कमा नआएको कम्पनी तथा यसका संचालकहरुलाई राजश्व चुहावट ऐन अनुसार कारवाहि अघि बढाइने चेतावनी दिएको छ।
विभागका सम्पर्कमा नआउने सबै कम्पनीहरु स्थाई लेखा नम्बर (भ्याट) मा दर्ता भएका छन्। यसैगरी अधिकांश संचालकहरु बारा, पर्सा, सिराहालगायतका तराई जिल्लाका रहेका छन्।
विभाग स्रोतका अनुसार आयात निर्यातको काम गर्ने गरी दर्ता भएका कम्पनीहरु निश्कृय भएको पाइएपछि अनुसन्धान अघि बढाइएको हो।
अनुसन्धानका लागि कम्पनी तथा संचालनको ठेगानामा पत्राचार गर्दा समेत सम्पर्कमा नआएपछि थप कारवाही अघि बढाउन सार्वजनिक सूचना जारी गरिएको विभागले जनाएको छ।
Facebook Comment