अब पैसा जस्तै सुन पनि बैंकमा राख्न सकिने, व्याज पनि सुन
काठमाडौं। सर्वसाधारणले अब आफूसँग भएको सुनलाई बैंकमा निक्षेपका रुपमा राख्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले विहिबार निर्देशन जारी गर्दै वाणिज्य बैंकहरुले सर्वसाधारणबाट सुन निक्षेप राख्न पाउने व्यवस्था गरेको हो।
सरकारले चालु आर्थिक वर्षको बजेटमा सुन निक्षेपका रुपमा राख्ने सकिने व्यवस्था गर्ने घोषणा गरेको थियो। यसैगरी राष्ट्र बैंकले पनि चालु आवकै मौद्रिक नीतिमा सुन निक्षेप राख्न सकिने व्यवस्था गर्ने उल्लेख गरेको थियो।
आर्थिक वर्षको ८ महिना वित्नै लाग्दा राष्ट्र बैंकले सुनधितोसम्बन्धी नीतिगत व्यवस्था गरेको हो। केन्द्रीय बैंकको निर्देशन अनुसार बाणिज्य बैंकहरुले नेपाली नागरिकसँग भएको सुन निक्षेपका रुपमा राख्न पाउछन्। उक्त सुन निक्षेप राखेवापत बैंकहरुले व्याज नगद या सुनमै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।
बैंकहरुले न्यूनतम तीन वर्ष र अधिकतम ५ वर्षसम्मका लागि सुन निक्षेप लिन पाउनेछन्। ९९५ फिटनेशन गुणस्तर भएको न्यूनतम २५ ग्राम भन्दा माथीको सुन निक्षेपका रुपमा लिन सक्नेछन्।
सुन निक्षेपको व्याजदर बैंकहरु आफैले तोक्न पाउनेछन् भने यस्तो निक्षेप लिनका लागि बैंकहरुले कार्यविधि बनाएर संचालक समितिबाट पारित गराउनुपर्ने र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ। अहिलेसम्म बैंकहरुले सुन धितो लिएर कर्जा प्रवाह मात्र गर्दै आएका थिए। बैंकमा सुन राख्नुपरेमा पैसा तिरेर लकरमा राख्नुपथ्र्यो।
Facebook Comment