रक्षामन्त्री र सेना प्रमुख अनुपस्थित भएपछि राज्य व्यवस्था समिति बैठक स्थगित
काठमाडौं। नेपाली सेना भित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा संघीय संसद प्रतिनिधि सभा अन्र्तगतको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ।
बैठकमा सांसदहरुले सेनाभित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थिति भएको भन्दै आपत्ति जनाएपछि समिति सभापति शशी श्रेष्ठले बैठक स्थगित गरेकी हुन्।
उनले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्री समक्ष पुर्याइदिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन समेत दिइन्। उनले भनिन्, ‘माननीयहरुले उठाउनुभएको विषयहरुको सन्देश सहित अर्को बैठमा उपस्थित हुने गरेर आजको यो बैठक स्थगित गर्दछु।’
बैठकमा सांसद अमरेशकुमार सिंहले सेना भित्रको भ्रष्टाचार सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै समितिको मर्यादामाथि प्रहार भएको बताए।
उनले नेपाली सेनाको तर्फबाट समेत प्रधानसेनापति नै जवाफदेही हुने भएकाले अन्य प्रतिनिधिको जवाफ आफूले नसुन्ने बताए। उनले भने, ‘लोकतान्त्रिक प्रणालीमा संसदीय व्यवस्थामा मन्त्री संसदप्रति उत्तरदायि हुने प्रधानमन्त्री मन्त्री उत्तरदायी हुने संसदीय समिति भनेको मिनी संसद हो। त्यसैले मन्त्री नआइकन छलफलको औचित्य छैन् र ब्रिफिङ पनि चिफले नगरिकन अन्यको त्यति महत्व राख्दैन्।’
उनले नेपाली सेनालाई ठेकेदार बनाउन खोजेको हो कि सेनाको गरिमा कायम राख्न खोजेको हो सरकारले जवाफ दिनुपर्ने बताए।
त्यस्तै संसदलाई जवाफ दिने हैसियत सचिवलाई नभएको भन्दै पोर्टोकलको ख्याल राख्न समेत माग गरे।
उनले भने, ‘हामी नेपाली सेनालाई ठेकदार बनाउन खोजेका छौं कि नेपाली सेना बनाउन खोजेका छौं त्यो प्रश्न छ। सरकारले जवाफ दिनुपर्छ। सरकार नै छैन भने कसले जवाफ दिने। सचिवको हैसियत होइन जवाफ दिने। संसदलाई जवाफदिन सचिवको हैसियत पुग्दैन।’ उनले नेपाली सेना भित्रको भ्रष्टाचारले देशलाई थिलोथिलो पारेको समेत बताए।
सांसद झपटबहादुर रावलले विभागिय मन्त्री र सेनाको प्रमुख बिना भ्रष्टाचार जस्तो गम्भिर विषयमा छलफल अगाडि बढ्न नसक्ने बताए। उनले संसदको गरिमा र महत्वलाई बेवास्ता गरेको र बैठकमा बोलेका कुरा सुन्ने व्यक्ति नै नभएको अवस्थामा छलफल स्थागित गर्नुपर्ने बताए। उनले भने, ‘सबैभन्दा पहिले सम्बन्धित विभागीय मन्त्री र सेनाको प्रमुखको उपस्थिति बेगर यो बैठक अगाडि बढाउने कुरा यो मिनि संसदको गरिमा यसको महत्वलाई बेवास्ता गरेको भन्ने मेरो बुझाइ रहेको हुनाले म बोल्दिन भनेर बोलिरहनु भन्दा पनि यसलाई यसरी नै टुङ्ग्याउँ भन्ने पक्षमा छु।’
सांसद डिला संग्रौलाले नेपाली सेना भित्र अझैपनि आर्थिक र नीतिगत भ्रष्टाचार हुनेवाला छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पस्ट पार्नुपर्ने बताइन्। उनले भनिन्, ‘सबैभन्दा पहिला जुन भ्रस्टाचार भइराखेको छ नेपाली सेनामा आर्थिक र नीतिगत भ्रस्टाचार हुनेवाला छ भनेर आएको छ। यस सम्बन्धमा पनि तपाइँहरुको स्पस्टता चाहिन्छ। उच्च सैनिक अधिकृतहरुले आफूखुसी मनपरेको गण गुल्ममा रही बजेट निकासा गरेको भन्ने कुरा पनि आएको छ। यो के हो?’
सांसदहरुले अख्तियारले हेर्न मिल्दैन भन्दै सेनाभित्र ठूलाठूला अनियमितताहरु हुने गरेको बताए। नेपाली सेनाभित्र भ्रष्टाचार भएको दावी गर्दै सांसद रेनुका गुरुङले उजुरी गरेपछि समितिले कार्यदल बनाई आठ महिना लगाएर अध्ययन गरेको थियो। नेपाली सेनाभित्र आर्थिक भ्रष्टाचार, अनियमितता र नीतिगत भ्रष्टाचार हुने गरेको अध्ययनले देखाएको छ। सोही प्रतिवेदन माथि छलफल गर्न बोलाइएको बैठकमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएपछि बैठक स्थागित भएको हो।
Facebook Comment