कोरोनाभाइरसका कारण इपिएल स्थगित

काठमाडौं। बढ्दो कोरोनाभाइरसको प्रकोपलाई मध्यनजर गर्दै एभरेष्ट प्रिमियर लिग स्थगित गरिएको छ । आगामी चैत १ देखि १५ गते सम्म काठमाडौंमा हुने तय भएको लिग स्थगित गरिएको हो । लिगको नयाँ तालिका सार्वजनिक भएको छैन ।
इपिएलका कार्यकारी निर्देशक आमिर अख्तरले कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लिग अनिश्चितकालका स्थगित गरिएको जानकारी दिए । उनले विदेशी खेलाडी र नेपाली राष्ट्रिय टिमको खेल तालिका मिलाएर अर्को मिति घोषणा गर्ने बताए ।
इपिएलमा ६ टिमबीच प्रतिस्पर्धा हुने तय थियो। यसपटकको इपिएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वायन स्मिथ, न्युजिल्यान्डका कोरि एन्डर्सन, श्रीलंकाका उपुल थरंगा, अफगानिस्तानका मोहमद शहजाद, आयरल्यान्डका केभिन ओब्रायन र पाउल स्टर्लिङ लगायतका खेलाडी नेपाल आउने बताइएको थियो।
Facebook Comment