शेयर लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह : नीतिगत समस्या छन् भने बसेर कुरा गरौं
काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले शेयर बजारमा कुनै नीतिगत समस्या छन् भने त्यसलाई समाधान गर्न आफू तयार भएको बताएका छन्।
शेयर बजारको उतारचढाव बजारको सेन्टिमेन्ट भएको र यसलाई कसैको अनुहारसँग जोडेर हेर्न नहुने खतिवडाले उल्लेख गरे। ‘भाउ तलमाथि हुने भनेको बजारको सेन्टीमेन्ट हो, यसलाई कसैको अनुहारसँग जोडेर हेर्नु उपयुक्त हुदैन’ विहीबार मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले भने।
मन्त्री खतिवडाले २ वर्षमा पुँजी बजारमा धेरै सुधार गरेको पनि दावी गरे। उनले कर प्रणाली, कारोबार राफसाफ, मार्जीन ल्याडिङ, अनलाईन ट्रेडिङलगायतका सुधार गरिएको र लगानीको वातावरण बनेको बताए। ‘अर्थमन्त्रीको काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्याइदिने हो बाँकी लगानीकर्ताको जिम्मा।’
उनले लगानीकर्तालाई कम्पनीको वासलात, नाफा नोक्सानको अवस्था, भविश्यमा त्यसको व्यवसायको भविश्य कतिको बलियो भएर जान्छ हेरेर निर्णय गर्न आग्रह गरे।
अर्थमन्त्री खतिवडा बाहिरिने हल्लाका कारण गत साता शेयर बजार उच्च अंकले वृद्धि भएको थियो। तर, उनी पुनः ६ महिनाका लागि पदबहाली भएसँगै बजार घट्न थालेको छ।
साताको अन्तिम दिन विहीबार बजार ५.५० अंकले घटेर १४३५.७० अंकमा झरेको छ। यसदिन १७९ कम्पनीको २ अर्व ४५ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ।
Facebook Comment