कोरोनाले अर्थतन्त्रमा पारेको असरबारे सरकारले थाल्यो अध्ययन
काठमाडौं। विश्वव्यापीरूपमा आतङ्कका रुपमा देखापरेको ‘कोभिड–१९’ ले पार्ने नेपालको समग्र अर्थतन्त्रबारे सरकारले अध्ययन शुरु गरेको छ । कोरोना भाइरसका कारण विश्वव्यापीरूपमै अर्थतन्त्रमा नकारात्मक प्रभाव परिरहेको अवस्थामा त्यसबाट पार्ने प्रभावका बारेमा अध्ययन थालिएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।
उनले भने, “कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्ने असरको विषयमा अध्ययन थालिएको र यसमा अर्थ मन्त्रालय र राष्ट्र बैंकले काम शुरु गरिसकेको छ ।”
चीनबाट फैलिएको कोरोना भाइरसको नकारात्मक प्रभाव नेपाली अर्थतन्त्रमा पर्न थालिसकेको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारसमेत तत्कालका लागि स्थगन गरेको छ । औद्योगिक क्षेत्रमा कच्चा पदार्थको अभाव देखिने थालेको गुनासो आइरहेको बेला अर्थमन्त्री खतिवडाले समग्र पक्षको अध्ययन शुरु गरिएको जानकारी दिए।
अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको तत्काल र दीर्घकालीन असर पर्ने भन्दै त्यसको अध्ययन गरेर सरकार अगाडि बढ्ने स्पष्ट पारे। नेपाल भ्रमण वर्षको सन्दर्भमा अन्तर्राष्ट्रिय क्षेत्रमा गरिने प्रवद्र्धनका काम तत्कालका लागि स्थगित गर्ने निर्णय भएको जानकारी दिए।
विश्वव्यापीरूपमा समस्या कस्तो प्रभाव देखिन्छ सोही आधारमा नै थप व्यवस्था एवं निर्णय गर्दै जाने सोचाइमा रहेको उनको भनाइ छ । यस्तै कतिपय निर्णयमा अन्तर्राष्टिय कानूनलाई हेरेर पनि निर्णय गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
यस्तै सेक्युरिटी प्रेससम्बन्धी विषयमा मन्त्री डा खतिवडाले भने, “प्रचलित कानूनअनुसार नै आवश्यक निर्णय हुन्छ ।” यस्तै अन्तःशुल्कको स्टिकर तथा अन्य अत्यावश्यक सामग्रीमा समेत सोही प्रक्रिया अवलम्बन गरिने मन्त्री डा खतिवडाको भनाइ छ । रासस
Facebook Comment