आत्महत्या गर्ने उद्देश्यले त्रिशुलीमा सँगै हामफाले दम्पत्ति
काठमाडौँ। विवाह गरेको केही समय नबित्दै नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन्। पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं. १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षीया सञ्जु खाती सँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन्।
त्रिशुली नदी किनारमै घर भएका उनीहरुले घरको छतबाट एकैपटक हामफाल्दा श्रीमती सञ्जुको घटनास्थलमै मृत्यु भएको थियो भने श्रीमान् मौशमलाई घटना लगत्तै घाईते अवस्थामा प्रहरीले उद्धार गरेको थियो। छिमेकीहरुले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
हाल घाइतेको जिल्ला अस्पताल त्रिशुलीमा उपचार भइरहेको छ भने मृतकको पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षक अवि नारायण काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार जिवित उद्धार गरिएका श्रीमान् मौशमलाई अस्पतालमै प्रहरीकै नियन्त्रण र निगरानीमा उपचारमा राखिएको छ।
छिमेकी र स्थानीयवासीले बताए अनुसार पारिवारिक विवादका कारण दुवैले आत्महत्याको प्रयास गरेको भनिए पनि यसको खास कारण भने खुल्न सकेको छैन। तर, यसबारे थप अध्ययन भइरहेको मुद्दा शाखा प्रमुख विष्णु फुँयालले जानकारी दिएका छन्। यी दुवैको ६ महिनाअघि मात्रै विवाह भएको पारिवारिक श्रोतले जनाएको छ। गोरखापत्र दैनिकबाट
Facebook Comment