पुनर्बीमा कम्पनीको साधारण शेयर चैत ४ बाट
काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले जारी गर्न लागेको एक अर्ब ६० करोड रुपैयाँ बराबरको साधारण शेयर (आईपिओ) का लागि चैत ४ गतेबाट आवेदन खुला हुने भएको छ। एक सय रुपैयाँ अंकित उक्त शेयरमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन्।
कम्पनीले जारी गर्न लागेको एक करोड ६० लाख कित्ता शेयरमध्ये कर्मचारीलाई ७३ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषलाई ८ लाख कित्ता बाँडफाँड गरिसकेको छ। अब बाँकी १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ।
उक्त शेयरका लागि आवेदन दिने समय छिटोमा चैत ७ र ढिलोमा चैत १८ गतेसम्म तोकिएको छ। कम्पनीले जारी गर्न लागेको साधारण शेयरलाई क्रेडिट रेटिङ कम्पनी इक्रा नेपालले आइपिओ ग्रेड–२ रेटिङ गरेको छ। रेटिङले यो आइपिओलाई औशत भन्दा राम्रो रहेको प्रमाणित गरेको छ।
कम्पनीको शेयर निश्कासन तथा बिक्री प्रवन्धक आरबीबी मर्चेन्ट रहेको छ। १० अर्व जारी पुँजी रहेको कम्पनीले १६ प्रतिशत साधारण शेयर बिक्री गर्न लागेको हो। हाल आठ अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको साधारण शेयर बिक्रीपछि पुँजी १० अर्ब पुग्नेछ।
सार्वजनिक तथा निजी साझेदारी नीतिअन्तर्गत सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीले २०७२ साल साउन १ गतेदेखि कारोबारको सुरु गरेको हो।
कम्पनीले स्वदेशका जीवन तथा निर्जीवन बीमा कम्पनी र विदेशी बिमा तथा पुनर्बिमा कम्पनीहरूसँग कारोबार गर्दै आएको छ। आर्थिक वर्ष ०७४/७५ सम्ममा कम्पनीले कुल ४ अर्ब रुपैयाँ पुनर्बीमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको जनाएको छ।
Facebook Comment