राजा त्रिभुवन दिल्ली गएपछि पूर्वी पहाडमा हलचल

डिसी नेपाल
२४ फागुन २०७६ ८:२६

नेपाली काँग्रेसद्वारा देशमा शुरु गरिएको जनक्रान्ति बिस्तारै अघि बढ्दै गरेको अबस्थामा राजा श्री ५ त्रीभुवन दरवार छोडेर भारत गएको खबरले गाउँमा राणा बिरोधी माहोल तीव्र रुपमा फैलिएर गयो । फलत पुस १ गते आठराई संक्रान्तिमा बजार लागेका दिन लिम्बू र बाहुन ( खासगरी सिटौला)हरुका बीच भएको सांघातिक हमलाले उग्र रुप धारणा गरेपछि आठराईका प्रमुख गाउँहरु मुल्पानी, चुहान्डाँडा, भित्रिया, होडा, ईवा, पोखरी, भदौरे, सिम्ले, कालिपा, यांखुवा, नाम्जाङ, करकले,साम्थाङ खाम्लालुङ ह्वाकु, फुलबारी, निघुरादिन, चोक्पुर , छिन्ताङ, हाङपाङ, मिचिरिङ, नेसुम्म, चाँगे, ढुङ्गेसाँगु, तेम्मे, सानथाक्रा लगायत पुरै आठराईमा लिम्बूहरुले क्षेत्री बाहुनहरुका घर लुट्ने कामलाई तीब्ररुपमा अगाडि बढाएका हुँदा एक प्रकारको हाहाकारकै स्थिति सृजना भएको थियो । प्राय ठुलाबढा धनीमानी बाहुनहरु आफूसँग जो भएको लैजान सकिने जति सबै सम्पति लिएर भागेका थिए ।

उसवेला पूर्वी पहाडमा बसोबासो गर्ने ब्रामणहरु चार समुदायमा विभक्त थिए (क) उपाध्याय (ख)कुमाई (ग) पुर्वीया (घ) जैसी । यस्तै क्षेत्रीहरु पनि दुई समुदायमा बिभक्त थिए (क) झर्रा छेत्री (ख) साधारण छेत्री । कटुवाल, खड्का, थापा बानियाँ, डाँगी, कार्की आदि झर्रा छेत्री । अर्थात् क्षेत्रीहरुको जुन थरमा बाहुनहरु हुँदैन थिए त्यो थरका क्षेत्रीहरुले आफुहरुलाई झर्रा क्षेत्री मान्थे र बाहुन थर भएका जस्तै दाहाल, गोतामे, ढकाल, सिटौला, भँडारी आदि थरका क्षेत्रीहरु भन्दा उच्च मान्थे । यस्तो प्रचलन थोर बहुत अहिले पनि बांकी नै छ ।

लिम्बूहरुमा पनि क्षेत्री बहुनहरुमा जस्तै बिभिन्न थरहरु छन् जस्तै याक्थुम्वा, कन्दङ्गवा, पाहिम, नेम्वाङ, खापुङ, इस्बो, थेबे, लावती, मादेन, पालु्ङवा, शेर्मा, फोम्बो, आङदेम्वे, जबेगु, चोवेगु, हुक्पा, चुङवाङ, फियाक, आदि आदि । यसैगरी, राई, शेर्पा,तामाड, भोटे, गुरुङ, मगर, दमै, कामी, सुनार, सार्की, चुँदार, कुम्हाले, माझी जातहरुमा पनि बिभिन्न थरहरु थिए र छन् ।

यी सबै समूह जातजाति बर्गको बसोबासोको पुख्र्यौली थलो हो आठराई । लिम्बूवान राज्य नेपालमा एकीकरण हुनु पहिले पनि त्यहाँ अन्य जात थरका मानिसहरुको बसोबसो भएको पाइन्छ । नेपाल सरकारले लिम्बुवान राज्यलाई नेपाल राज्यमा एकीकरण गरेपछि राज्य सन्चालनसम्बन्धी केही कानुनी हकअधिकार प्रदान गरी लिम्बुवान प्रदेशलाई भूमि कर साथै अन्य करबाट प्राप्त रकमको ६ आनि लिनु १० आनि नेपाल सरकारलाई बुझाउनू भनी लिम्बुवान प्रदेशको भूमिको पूर्ण अधिकार लिम्बूहरुमा नै रहने गरी सुरक्षित गरिदिएको थियो ।

नेपाल राज्यमा गाभिएपछि गरिएको भूमि ब्यबस्थाअनुसार लिम्बू जातिले भोगचलन गरिआएको जग्गालाई किपट,अन्य जातिले भोग चलन गरिआएको जग्गालाई रैकर, कसैको भोग चलनमा नभएको जग्गालाई सरकारी गरी तीन प्रकारले जग्गाको भनौँ भूमिको व्यवस्था गरेको पाइन्छ । यस अतिरिक्त देव गुठी, सरकारी गुठी, निजी गुठी, सरकारी बिर्ता, कुश बिर्ताआदि नामबाट पनि जग्गाको ब्यवस्था गरिएको थियो । यो भूमि ब्यबस्था लिम्बूवानका सत्रै थुममा अर्थात अरुण नदीपूर्व इलामसम्म भन्नाले संखुवासभा, धनकुटा, तेह्रथुम, ताप्ल्जुङ, पाँचथर र ईलाम जिल्लामा २०२२ साल सम्म कायमै थियो ।

२०२२ सालमा श्री ५ को सरकारले देशको आवश्यकताअनुसार समय सापेक्ष नेपाल अधिराज्यको भूमिको आधुनिक तरिकाबाट ब्यबस्था गर्न २०२२ सालमा तत्कालीन प्रतिनिधि सभा राष्ट्रिय पन्चायतबाट भूमिसुधार ऐन पास गरी लागु गरेपछि किपट जग्गा जग्गाधनी लिम्बूका सन्तानबाहेक अरुका नाममा नामसारी हुन नसक्ने गरी भइआएको ब्यबस्थाको अन्त्य भएको थियो ।
यही भूमिसुधार ऐन बमोजिम २०२४ सालमा लिम्बूहरुका हकभोगमा रहेका सबै जंगल (खर्क)राष्ट्रियकरण गरियो ।

जग्गाको स्वामित्व हस्तान्तरण नहुने भएपनि लिम्बूहरुले आफ्ना नाममा दर्ताभएका खेतबारी खर्क ( बन जंगल)क्षेत्री बाहुनहरुलाई केही मुल्य लिएर अस्थायीरुपमा भोग चलन गर्न दिन्थे । भोग गर्ने सम्झौता सामान्यतया एक बर्षका लागि गरिन्थ्यो । एक बर्ष पुगेपछि पहिले लिएको रकम फिर्ता दिएर जग्गा फिर्ता लिन्थे कि त थप रकम लिएर पुन अर्को एक बर्षका लागि जग्गा भोग चलन गर्न दिइन्थ्यो । हरेक बर्ष थप्ने रकमलाई “बड रकम” भनिन्थ्यो र यसरी हरेक बर्ष थपिँदै गएको र पहिले भएको एकमुष्ट रकमलाई “थैली”भनिन्थ्यो । जग्गाको स्वामित्व नामसारी नगरी नै यसरी हरेक बर्ष बड रकम दिँदै दिँदै बर्षौँ बर्षसम्म पनि अस्थायी स्वामित्वमै जग्गा भोग चलन गर्ने प्रचलन थियो ।

यसै प्रचलन बमोजिम खाम्लालुड०का लिम्बूहरुका नाममा भएको खाम्लालुड०को हातीखावा खर्क (जड्०गल) भैँसी गोठ पाल्न भनी १९१८ सालमा सिटौलाहरुले भोग बन्दकीमा लिएका रहेछन् । २००७ साल सम्ममा सो खर्क सिटौलाहरुले भोग चलन गरेबापत सिटौलाहरु बाट जग्गा (खर्क)धनी लिम्बूहरुले लगेको जम्मा रकमको थैली लगभग पचास हजार भा.रु पुगेको रहेछ । त्यति रकम सिटौलाहरुलाई फिर्ता गरेर खर्क उकास्न सक्ने अबस्थामा लिम्बूहरू थिएनन् । खर्कसम्बन्धी यस्तै कारोबार खाम्लालुड.का लिम्बूहरुले बिमली, भँडारी ,गोतामेहरु सँग पनि गरेका थिए ।

राणा समर्थकको आरोपमा बाहुनहरुलाई खेद्न सकिय भने थैली नतिरी खर्क आफ्नो हुन्छ साथै साहुहरुको अन्य ऋण पनि तिर्नु पर्दैन भन्ने हल्ला फिँजाएर लिम्बूहरू भड्काएर बाहुनहरुका बिरोधी बनाइएको थियो । अर्कोतर्फ २००० साल पूर्व नै आठराईका उप्रेती, थपलिया, प्रसाईँ, सिटौला, न्यौपाने थरका वाहुनहरु पढ्नलाई नेपाल(काठमाण्डू) मा जाने गरेका र साथै १९८० ताका तमोर नदीमा सिटौलाहरुले पुल हालेपश्चात राणा सरकारका पहुँचवाला केही भाईभारदारहरु सँग आठराईका बाहुनहरु (विशेषगरी कुमाई बाहुन)को हिमचिम सम्बन्ध हुन गएको आठराईका लिम्बूहरुलाई मन परेको थिएन । यसै कारणले पनि २००७ मा आठराईमा जनक्रान्तिको निहुँ पारी लिम्बूहरुले बाहुनहरुलाई लखेटेका थिए । बाहुनहरुले खास कुनै प्रतिकारै नगरी भागेका हुनाले बलात्कारका एकाध घटना भए तर मानिसको ज्यानै भने गएको थिएन ।

आठराईका क्षेत्री बाहुनहरु प्रजातन्त्र बिरोधी र लिम्बूहरु चैँ प्रजातन्त्रवादी हुन् भन्ने कारणबाट २००७ सालमा आठराईमा लुटपाट भएको होइन । हुन त एकाध बाहुनहरु राणाका पक्षधर नभएका भने होइनन् । २००७ सालको जनक्रान्तिका निहुँमा आठराईमा लिम्बूहरु बाहुनहरुका घरमा जुन प्रकारबाट लुटपाट गरेर चल सम्पति भाँडाकुँडा गाग्री खड्कुँला अन्नपात चौपाय लगे त्यो घटना अनपेक्षित थियो । त्यसअघि कहिल्यै पनि गाउँघरमा सानातिना झैझगडा चोरी, जारी, किर्ते जालसाँजी,जग्गाको सिमाना बिबाद, अंश, हाडनाता र यदाकदा ज्यान मुद्दाजस्ता ब्यक्तिगत कारणबाट हुने वा घट्ने घटनाबाहेक जाति धर्म वा सम्प्रदायका बीच कहिल्यै पनि झैझगडा भएको पाईँदैन । अनपेक्षितरुपमा घटेको घटना हुनाले घटनापश्चात समाजको वातावरणलाई पूर्ववत ल्याउन लामो समय भने लागेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *