लिटन दासको किर्तिमानी इनिङ, बंगलादेशको शानदार जीत

काठमाडौं। बंगलादेश र जिम्बाब्वेबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा बंगलादेशका ओपनर ब्याट्सम्यान लिटन दासले नयाँ इतिहास बनाएका छन् ।
विकेटकीपर ब्याटस्म्यान दासले १४३ बलमा १६ चौका र ८ छक्कासहित १७६ रनको शानदार पारी खेले । यससँगै उनले एक दिवसीय क्रिकेटमा बंगलादेशबाट सर्वाधिक रन बनाउने कीर्तिमान कायम गर्न सफल भएका छन् ।
दासले यो उपलब्धि हासिल गर्दा तमिम इकबाललाई पछि पारेका छन् । इकबालले जिम्बाब्वेविरुद्धकै दोस्रो एक दिवसीय क्रिकेटमा १५८ रन बनाउँदै सर्वाधिक रन बनाउने बंगलादेशको पहिलो खेलाडी बनेका थिए ।
जिम्बाब्वेविरुद्ध बंगलादेशले टस जितेर पहिला ब्याटिङ गर्दै तीन विकेटको नोक्सानीमा ३२२ रन बनाएको थियो । दासले १७६ रन बनाउँदा तमिम इकबालले १२८ रनको नट आउट पारी खेलेका थिए ।
वर्षाको अवरोधपछि ४३ ओभरमा छोट्याइएको खेलमा बंगलादेशले ३२२ रन बनाएपछि डीएल मेथडअनुसार जिम्बाब्वेले ३४२ रनको रिभाइज्ड लक्ष्य पाएको थियो । तर उसले ३७.३ ओभरमा अलआउट हुँदै २१८ रन मात्र बनाउन सक्यो ।
Facebook Comment