राप्रपा र राप्रपा सँयुक्तबीच पार्टी एकीकरण गर्ने सहमति

काठमाडौं । कमल थापाले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशपति शमशेर राणा तथा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको छ। शनिबार साँझ तीनै अध्यक्षले पार्टी एकता सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
एकीकरण गर्ने सहमतिपछि जारी विज्ञप्तिमा एकताको घोषणा भने आगामी २८ गते हुने जानकारी दिइएको छ।
शनिबार राति भएको सहमतिअनुसार एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहनेछ भने कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीन जना अध्यक्ष रहनेछन।
पार्टीको नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रुपमा राजसंस्था रहने लगायत हुने सहमति भएको छ। पार्टीको चुनाव चिन्हबारे टुंगो लगाइएको छैन भने हाललाई राप्रपाको झण्डा नै एकीकृत पार्टीको झण्डा हुने सहमति गरिएको छ। चुनाव चिन्ह र झण्डाबारे पार्टीको उपयुक्त निकायबाट ६ महिनाभित्र निर्णय गरिने सहमति भएको छ।
यस्तै आगामी ढेड वर्षभित्र महाधिवेशन गर्ने, त्यसबेलासम्म पार्टीको दैनिक कार्यसञ्चालनका लागि तीन अध्यक्ष रहने निर्देशक समिति बनाइनेछ।
पार्टी एकताको आधारपत्र र कार्यविधि निर्धारण गर्ने राप्रपाका दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा तथा राप्रपा संयुक्तबाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिना रहेको कार्यदल समेत गठन गरिएको तीन नेताद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
Facebook Comment