२५ मेगावाटको सोलार आयोजना अन्तिम चरणमा, वैशाखभित्रमा उत्पादन सुरु हुने

डिसी नेपाल
२५ फागुन २०७६ १३:३२

काठमाडौं। नुवाकोटमा निर्माणाधीन नेपालकै सबैभन्दा ठूलो सोलार आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ। २५ मेगावाट क्षमता रहेको आयोजनाले १५ मेगावाट विद्युत आगामी वैशाखभित्र उत्पादन गर्ने लक्ष्यका साथ काम भइरहेको छ जनाएको छ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको देवीघाट विद्युत केन्द्रको नाममा रहेको जग्गामा राखिएको सोलार प्यानलमार्फत दिउँसो उत्पादित विद्युत सोझै राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। ब्याट्री नराखिएकाले घाम लागेको समयमा मात्रै सोलार प्लान्टबाट विद्युत् उत्पादन हुने छ।
विद्युत केन्द्रको कर्मचारी आवास क्षेत्र नजिक रहेको खाली जग्गामा १० मेगावाट र पावर हाउस नजिक रहेका तीन ठाउँमा ५ मेगावाट विद्युत् उत्पादन गर्न सक्ने सोलार प्यानलको जडान धमाधम भइरहेको छ।

एउटा प्यानलबाट २ सय ७५ वाट विद्युत् उत्पादन हुने छ। एक मेगावाट उत्पादन गर्ने प्यानल राख्न २० रोपनी जग्गा प्रयोग गरिएको छ। देविघाट विद्युतगृह नजिकै सोलार आयोजनाबाट उत्पादित विद्युत् जडानका लागि ६६/३३ केभीको नयाँ सबस्टेसन पनि निर्माण भइरहेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशकहरु हरराज न्यौपाने र बज्रभूषण चौधरी लगायतको टोलीले शनिबार आयोजना निर्माणस्थलको निरीक्षण गरी निर्माणमा देखिएका समस्या, विद्युत् उत्पादन मितिलगायतका विषयमा छलफल गरेको छ।

कार्यकारी निर्देशक घिसिङले सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएकाले हाल चालु अवस्थामा रहेको ३३ केभी प्रसारण लाइनमार्फत सोलारबाट उत्पादित विद्युत् जडानको वैकल्पिक व्यवस्था तत्काल गर्न निर्देशन दिए। सम्पूर्ण उपकरणहरु आयोजनास्थलमा आइसकेको बताउँदै ठेकेदार कम्पनीका प्रतिनिधिहरुले वैशाखभित्रमा १५ मेगावाट विद्युत् उत्पादन गर्ने प्रतिबद्धता जनाए।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले २०७५ वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए। एक वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ सुरु गरिए पनि आयोजनाको डिजाइन स्वीकृति, रुख कटानलगायतका कारणले ढिलाइ भएको घिसिङले बताए।

आयोजना प्रमुख विकास बहादुर रघुबंशीकाअनुसार, डिजाइनर स्पेन र परामर्शदाता जर्मनीमा बस्ने तर साइटमा परिचालित नभइदिंदा डिजाइनलाई अन्तिमरुप दिन ढिलाइ भएको थियो।

विश्व बैकको ग्रिड सोलार तथा ऊर्जा दक्षता परियोजना अन्तर्गत प्लान्ट स्थापनाका लागि चिनियाँ कम्पनी राइजन ईनर्जीसँग तीन करोड ८० लाख अमेरिकी डलरमा ठेक्का सम्झौता गरिएको थियो।

सोलार प्लान्टको डिजाइन, आपूर्ति, निर्माण, सञ्चालन र मर्मतसम्भार ठेकेदार कम्पनीलेनै पाँच वर्षसम्म गर्ने छ। कम्पनीले ५ वर्षसम्म प्लान्टको सञ्चालन तथा मर्मतसम्भार गरी प्राधिकरणलाई चालू अवस्थामा हस्तान्तरण गर्ने छ। कम्पनीले प्लान्टबाट वार्षिक रुपमा तीन करोड ३० लाख युनिट सुनिश्चित ऊर्जा (ग्यारेण्टेड इनर्जी) आपूर्ति गर्नु पर्ने छ।

सुरुमा जर्मन कम्पनी फिस्नरले परामर्शदाताको काम गरेको थियो । तर, परामर्शदाताले डिजाइन स्वीकृतिमा ढिलाइ र रेट बृद्धिको माग गरेपछि फिस्नरसँगको सम्झौताको म्याद थपिएको थिएन । अहिले एनइए इन्जिनियरिङ कम्पनीले परामर्शदाताको काम गरिरहेको छ।

प्लान्ट सञ्चालनमा आएपछि हिउँदमा राष्ट्रिय प्रणालीमा रहेको ऊर्जा अभावलाई कम गर्न सहयोग गर्ने छ। काठमाडौं लोड सेन्टरबाट प्लान्ट नजिक रहेकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत आपूर्ति प्रणालीलाई थप विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुग्ने प्राधिकरणले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *