कोरोनाभाइरस आतंकसँगै ग्यास आतंक, अभाव हुने हल्लाले ग्यास डिपोमा लाइन

डिसी नेपाल
२५ फागुन २०७६ १४:२३

काठमाडौं । यतिबेला विश्वमा कोरोना भाइरसबाट मानिसहरु त्रसित छन् । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाबाट अहिलेसम्म झण्डै ९० देशका मानिसहरु संक्रमणमा परिसकेका छन् ।

आइतबार बिहानसम्म ३५ सय ३० जनाको ज्यान गएको छ भने १ लाख ७ हजार बढी मानिस यसबाट संक्रमित भएका छन् । तर, खुशीको कुरा पछिल्लो समय चीनमा यसको संक्रमण घट्दै गएको छ ।

कोरोना भाइरस संसारभर फैलिदैँ गएपछि धेरै देशहरुले आफ्ना नागरिकहरुलाई विदेश यात्रामा प्रतिबन्ध नै लगाए । धेरै देशले सभा गोष्ठी नगर्न आदेश दिए । कतिले शैक्षिक संस्थासँगै चर्चसमेत बन्द गरे ।

नेपालमा पनि सरकारले विद्यालय स्तरको परीक्षा चैत ५ गतेभित्र सक्न आदेश दिएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि नेपालमा मास्ककोसमेत अभाव देखिएको छ । कोरोना भाइरस छिमेकी देश भारतमा पनि प्रवेश गर्यो । कोरोना संक्रमणका बिरामी बढ्दै गएपछि भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपालमा मास्ककोसमेत अभाव भइरहेका बेला भारतले औषधिमा प्रतिबन्ध लगाउनुले नेपालमा एक खालको हल्ला फैलिएको छ कि अब दैनिक उपभोग्य वस्तुसँगै ग्यासको चरम अभाव हुन्छ ।

जुन कुरा ग्यास डिपोमा लाइन लागेका सेवाग्राहीलाई देखेर प्रष्ट हुन्छ । तर, सरकारले दैनिक उपभोग्य वस्तु र ग्यासको अभाव नहुने प्रष्ट पारेको छ । शुक्रबार आपूर्ति मन्त्री लेखराज भट्टले १ महिनासम्म ग्यासको अभाव नहुने बताएका छन् ।

शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री भट्टले ६ महिनासम्म पुग्ने खाद्यान्न, १० महिनालाई पुग्ने नुन र एक महिनालाई पुग्ने ग्यास अहिले पनि स्टक रहेको बताए । तर, सिंहदरबारकै बाहिर अनामनगरको एक डिपोमा ३ दिनदेखि ग्यास लिनेको लाम लागेको छ ।

तीन दिनदेखि ग्यासको लाइनमा लागेकी एक महिला भन्छिन्, ‘ओल्लो घर पल्लो घर सबै मान्छेले चामल १० बोरा, नुन १ बोरा लगेर राखेको छ ।’ उनले पनि २ वटा ग्यास सिलिण्डर बोकेर आएकी रहेछिन् । अझ एउटा नयाँ सिलिण्डर किन्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै ग्यासको लाम लागेका एकजना बृद्ध उद्धवप्रसाद चापागाईँले आफू ग्यास सकेरै आएको बताए । उनले भने, ‘म हल्लाका भरमा हिँड्ने मान्छे होइन । वास्तवमै ग्यास सकिएर म आको हो ।’ उनी अगाडि थप्छन्, ‘सरकारले ग्यासको अभाव छैन भन्छ । तर डिपोमा ग्यास पुर्याउन सकिरहेको छैन ।’

तर, अनामनगर ग्याँस डिपोकी संचालिका रविता पौडेल उपभोक्ता जसरी आत्तिरहेका छन त्यस्तो अवस्था नभएको बताउछिन् । उनी भन्छिन्, ‘मानिसहरु त्यत्तिकै अत्तिराछन्, हामीले ग्याँस बाँडिरहेका छौं ।’ उनी अगाडि थप्छिन्, ‘यतिसम्म भन्नुहुन्छ कि मेरो घरमा आधा किचनमा छ, आधा गिजरमा छ । खन्याउने मेसिन कहाँ पाइन्छ खन्याएर भर्छुसम्म भन्नु भैसक्यो । तर, ग्याँस आइराछ त्यस्तो आत्तिनु पर्ने अवस्था छैन ।’

अहिले एकै घरका मान्छेले धेरै सिलिण्डर लैजान थालेपछि आफ्नै नियम बनाएकी छिन् । उनले १ घरपरिवारले १ सिलिण्डर, सानो ताथा ठूलो होटल व्यवसाय संचालन गरेकालाई क्रमशः २ र ३ सिलिण्डर ग्यास दिन थालेकी छिन् । त्यसको लागि पनि ग्यास लिन आउनेले नागरिकताको सक्कलसहित २ वटा फोटोकपी अनिवार्य ल्याउनु पर्ने छ । लगातार ५ दिनदेखिको भिड् घट्ने नाम नलिएपछि यस्तो नियम बनाउनु परेको उनको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *