महिला टि–२० विश्वकपको उपाधि अस्ट्रेलियालाई

डिसी नेपाल
२५ फागुन २०७६ १६:०१

काठमाडौं। महिला टि–२० विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको छ । आज घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा भएको फाइनलमा डिफेण्डिङ च्याम्पियन अस्ट्रेलियाले भारतलाई ८५ रनले पराजित गरेको हो । अट्रेलियाले दिएको १८५ रनको लक्ष्य पच्छ्याएको भारत १९.१ ओभरमा ९९ रनमा अलआउट भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । अस्ट्रेलियाको लागि बेथ मुनीले अविजित ७८ रन बनाइन् । ५४ बल खेलेकी उनले १० चौका प्रहार गरिन् । अर्की ओपनर अलिसा हिलीले तुफानी ब्याटिङ गर्दै ३९ बलमै ७५ रन बनाइन् । उनले ७ चौका र ५ छक्का प्रहार गरिन् । कप्तान मेग लेनिङले १६ रन बनाइन् । भारतको लागि दिप्ती शर्माले २ तथा पुनम यादव र राधा यादवले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको भारतले १९.१ ओभरमा अलआउट हुँदै ९९ रनमात्र बनाउन सक्यो । भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३३ रन बनाइन् । वेदा कृष्णमूर्तिले १९, रिचा घोषले १८ र स्मृति मन्धानाले ११ रन बनाए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । अस्ट्रेलियाका लागि मेगन स्कटले ४, जेस जोनासेनले ३, सोफी मोलिनेक्स, डेलिसा किमिन्स र निकोला केरीले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *