तमीम इकबाल बांग्लादेश एकदिवसीय टीमको नयाँ कप्तान

ढाका। आइतबार बांग्लादेशले ब्याटस्म्यान तमीम इकबाल लाई तिब्र गतिका बलर मशरफे मुर्तजाको ठाँउमा राष्ट्रीय एकदिवसीय टीम को कप्तान घोषणा गरेको छ। मुर्तजाले जिम्बाब्वे बिरुद्ध तीन एकदिवसीय सिरीज पछि राजीनामा दिएका थिए। उनले पाँच बर्ष भन्दा बढी समयदेखि बांग्लादेशको नेतृत्व गरेका थिए।
बांग्लादेश क्रिकेट बोर्डका अध्यक्ष नजमुलले बताए अनुसार बोर्डले सर्वसहमत रुपमा तमीम इकबाललाई एकदिवसीय टीमको कप्तानको जिम्मेवारी दिएको हो। तमीमले यो भन्दा अगाडि गतवर्ष जुलाईमा श्रीलंका सँग भएको तीन खेलको सिरीजमा मुर्तजा चोटको कारण बाहिर हुँदा टिमको नेतृत्व गरेका थिए। पूर्ण रूपले एकदिवसीय कप्तान नियुक्त भएपछि उनको पहिलो परीक्षा अप्रिलमा पाकिस्तान बिरुद्ध हुने खेलमा हुनेछ।
गत शुक्रबार बंगलादेश र जिम्बाब्वेबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा बंगलादेशका ओपनर ब्याट्सम्यान लिटन दासले नयाँ इतिहास बनाएका थिए। विकेटकीपर ब्याटस्म्यान दासले १४३ बलमा १६ चौका र ८ छक्कासहित १७६ रनको शानदार पारी खेले।
यससँगै उनले एक दिवसीय क्रिकेटमा बंगलादेशबाट सर्वाधिक रन बनाउने कीर्तिमान कायम गर्न सफल भएका थिए। दासले यो उपलब्धि हासिल गर्दा तमिम इकबाललाई पछि पारेका थिए। इकबालले जिम्बाब्वेविरुद्धकै दोस्रो एक दिवसीय क्रिकेटमा १५८ रन बनाउँदै सर्वाधिक रन बनाउने बंगलादेशको पहिलो खेलाडी बनेका थिए ।
जिम्बाब्वेविरुद्ध बंगलादेशले टस जितेर पहिला ब्याटिङ गर्दै तीन विकेटको नोक्सानीमा ३२२ रन बनाएको थियो। दासले १७६ रन बनाउँदा तमिम इकबालले १२८ रनको नट आउट पारी खेलेका थिए।
वर्षाको अवरोधपछि ४३ ओभरमा छोट्याइएको खेलमा बंगलादेशले ३२२ रन बनाएपछि डीएल मेथडअनुसार जिम्बाब्वेले ३४२ रनको रिभाइज्ड लक्ष्य पाएको थियो। तर उसले ३७.३ ओभरमा अलआउट हुँदै २१८ रन मात्र बनाउन सक्यो।
Facebook Comment