तेस्रो मुलुकबाट हुने आयात रोकिएको छैन : आपूर्तिमन्त्री
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले तेस्रो मुलुकबाट सामान आयात बन्द नभएको बताएका छन्। कोरोना भाइरस (कोभिड—१९) का कारण चीन, भारत तथा तेस्रो मुलुकबाट आयात निर्यात ठप्प भएको समाचार सार्वजनिक भइरहेका बेला मन्त्री भट्टले यस्तो बताएका हुन्।
राजधानीमा भएको एक कार्यक्रममा मन्त्री भट्टले चीन, भारत तथा तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान हटाउन आवश्यक रहेको बताए। ‘चीन, भारत, तेस्रो मुलुकबाट केही आउँदैन भन्ने मनोविज्ञान तोड्नु आवश्यक छ । सामान आइरहेको छ तर केही सतर्कता अपनाइएको छ’, उनले भने। केहीदिन नाकामा सामान राख्नुपर्ने बाध्यता रहेको उनले बताए। मान्छेबाट मात्रै नभएर वस्तुबाट समेत कोरोना सर्ने सम्भावना रहेकाले नाकामा केही दिन सामान राख्नुपर्ने अवस्था रहेको उनको भनाई छ।
मन्त्री भट्टले तत्काल स्वेतपत्र जारी गर्नुपर्ने आवश्यकता नरहेको समेत बताएका छन्। संकटकाल नै घोषणा गर्नुपर्ने अवस्था भएपछि मात्रै स्वेतपत्र जारी हुने उनले बताए। उनले भने, ‘अहिले स्वेतपत्र आवश्यक छैन। त्यस्तो संकटकाल नै घोषणा गर्नुप¥यो भने त्यती बेला स्वेतपत्र जारी हुन्छ । केही त्यस्तो भयो भने ।’ कुनै ठाउँमा केही समस्या देखिएमा तत्काल जानकारी दिन उनले आग्रह गरे।
मन्त्री भट्टले उपभोग्य सामानहरु माग बढ्दा केही मूल्य बढ्नु स्वभाविक भएपनि कालोबजारी हुन नदिने प्रतिवद्धता समेत जनाए। बजारमा माग अनुसार उत्पादन हुने सामानहरु एक्कासी माग बढ्दा केही मुल्य बढ्नु स्वभाविक रहेको उनको भनाई छ।
Facebook Comment