कोरोनाभाइरसको भ्याक्सिन तयार, अर्को महिना पहिलोपटक ‘ह्युमन ट्रायल’ हुने
काठमाडौं। कोरोनाभाइरसबाट संक्रमितको संख्याले लाख नाघिसकेको छ । ४ हजारभन्दा धेरैले यसका कारण ज्यान गुमाइसकेका छन् । युरोपियन युनियन र अमेरिकासमेत यो समस्याबाट चिन्तित छन् । यही बीचमा अमेरिका र बेलायतका वैज्ञानिकले मिलेर यसविरुद्धको खोप बनाएको बताएका छन् । उनीहरुले अर्को महिना यो भ्याक्सिनको मानवमा परीक्षण (ह्युमन ट्रायल) गर्नेछन् ।
अप्रिलको सुरुदेखि अमेरिका र बेलायतमा कोरोनाभाइरसविरुद्ध खोपको मानवमा परीक्षण सुरु हुने अपेक्षा गरिएको छ । यो खोप युनिभर्सिटी अफ लण्डन तथा अमेरिकी औषधी कम्पनीहरु मोडर्ना र इन्भोइयोले मिलेर बनाएका हुन् । डेलिमेलको रिपोर्ट अनुसार यदि कोरोनाभाइरसविरुद्धको यो खोप मानवमा सफल भएमा यबाट विश्वभरका संक्रमितको उपचार गरिनेछ । युनिभर्सिटी अफ लण्डनसँग सम्बन्धित इम्पिरियल कलेजका वैज्ञानिक तथा अमेरिकी औषधी कम्पनी दुवै अप्रिलदेखि परीक्षणका लागि तयार रहेको समाचारमा जनाइएको छ ।
अमेरिकी औषधी कम्पनीले विश्वविद्यालयसँग संयुक्त रुपमा ह्युमन ट्रायलको साथमा आफ्नो तर्फबाट छुट्टै अर्को ह्युमन ट्रायल पनि गर्ने जनाएका छन् । इम्पिरियल कलेज लण्डनका वैज्ञानिक प्रोफेसर रबिन शेटकले बताएअनुसार कुनै पनि भ्याक्सिनले सुरुमा भाइरसलाई केवल रोक्न सक्छ ताकि रोग धेरै नफैलियोस् र मानव शरीरमै भाइरस निकै कमजोर बनोस् । त्यसपछि यस्तो भ्याक्सिन खोजिन्छ जसले मानव शरीरमा रहेको भाइरसलाई मार्न सकोस् वा मानव शरीरका कोषिकालाई भाइरससँग लड्न र हराउन लायक बनाओस् ।
प्रोफेसर शेटकका अनुसार यदि मानवमा परीक्षण सफल भएमा सबैभन्दा पहिले ती देशमा भ्याक्सिन पठाइनेछ जहाँ मानिसहरु संक्रमित भइसकेका छन् ताकि संक्रमित भइसकेकाको उपचार होस् । अमेरिकी कम्पनी इन्भोइओले यदि परीक्षण सफल भएमा यस वर्ष १० लाख डोज औषधी बनाएर विश्वभर बाँड्ने जनाएको छ ।
प्रोफेसर शेटकका अनुसार सामान्यतया कुनै रोगको भ्याक्सिन बनाउन ५ वर्ष लाग्छ । तर, यसपटक रेकर्ड तोड्दै सबैभन्दा कम समयमा भ्याक्सिन बनाइएको हो । अब मानवमा परीक्षण सफल हुनुमा नै सबै कुरा निर्भर गर्छ । अहिले बनाइएको भ्याक्सिनमा २००३ मा फैलिएको सार्सको औषधी पनि मिश्रण गरिएको छ ।
Facebook Comment