सिन्धियाले त्यागे काँग्रेस, भाजपामा प्रवेश गर्ने संकेत

डिसी नेपाल
२७ फागुन २०७६ १७:५२

नयाँ दिल्ली (एजेन्सी) । भारतको मध्य प्रदेशमा भारतीय काँग्रेसको तर्फबाट लामो समय नेतृत्वदायी भूमिकामा रहेका ज्योतिरादित्य सिन्धियाले मङ्गलबार काँग्रेसको सदस्यबाट राजीनामा दिएका छन् । सिन्धियाको राजीनामासँगै यस राज्यबाट संसद्मा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा गरेका छन् ।

सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गरेका छन् । उनी निकट मानिने सांसदले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उनको राजीनामा आएको हो । “सुरूदेखि नै मेरो चाहना मध्यप्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ । मेरो विचारमा काँग्रेसमा बसेर यो सम्भव छैन त्यसैले मैले राजिनामा दिएको छु,” उनले राजीनामामा भनेका छन् । सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका काँग्रेस स्रोतले बताएको छ ।

यसअघि सोमबार दिग्विजय सिंहसहितका काँग्रेस नेताले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्यप्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए । मध्यप्रदेशमा काँग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो । काँग्रेसबाट राजीनामा दिनुअघि उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी थिए । उनीहरूबीच भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । अब मध्यप्रदेशको कमलनाथ सरकार सङ्कटमा फसेको छ ।

काँग्रेस त्यागेका सिन्धिया भाजपामा प्रवेश गर्ने भारतीय सञ्चार माध्यमहरु उल्लेख गरेका छन् । भारतीय राजनीतिमा पूर्व राजघरना सिन्धिया परिवारको महत्वपूर्ण भूमिका रहँदै आएको छ । यसअघि ज्योर्तिआदित्य सिन्धियाका बाबु माधवराज सिन्धिया र उनकी हजुर आमा विजया राजे सिन्धियाले काँग्रेस त्यागेका थिए । यस्तै उनकी फुपु वसुन्धरा राजे सिन्धिया भाजपामै छिन् । उनी राजस्थानको मुख्यमन्त्रीसमेत बनेकी थिइन् । सिन्धिया परिवारकै सदस्य यसोदा राजे सिन्धिया पनि भाजपामै छिन् ।

२०१८ मा भएको आम निर्वाचनमा सिन्धिया आफ्नो परम्परागत सिट गुनाबाट पराजित भएका थिए । त्यसपछि काँग्रेसको राजनीतिमा उपेक्षित हुँदै आएका उनी मध्य प्रदेशमा मुख्यमन्त्रीको दौडमा थिए । तर, मध्य प्रदेशका पूर्व मुख्यमन्त्री दिग्विजय सिंह उनको बाटोमा तगारो बनेपछि कमलनाथ मुख्यमन्त्री बनेका थिए । आगामी दिनमा हुन लागेको राष्ट्रिय सभामा पनि सिन्धियाले टिकट नपाउने सम्भावना देखिएको थियो । यसमा पनि सिंह नै सिन्धियाको तगारो बनेका थिए ।

सिंह पनि पूर्व राजपरिवारका सदस्य हुन् । सिंह र सिन्धिया परिवारमा दुईसय वर्षदेखि प्रतिष्पर्धा रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुई सय वर्षअघि सिन्धिया राजाले सिंह राजालाई यद्धमा पराजित गरेका थिए । त्यसको बदला दिग्विजय सिंहले १९९३ मा मध्य प्रदेशमा माधवराज सिन्धियालाई मुख्यमन्त्री हुन नदिएर बदला लिएको बताइन्छ । त्यतिबेला पनि माधवराज सिन्धियाले कााग्रेस त्यागेर आफ्नै दल बनाएका थिए । तर, पछि उनी काँग्रेसमा फर्केका थिए । हाल उनका छोरो ज्योतिरादित्यले पनि काँग्रेस त्यागेका छन् । त्यसो त भाजापाकी संस्थापक मध्येकी एक विजय राजे सिन्धियालाई पनि काँग्रेसले संसदीय चुनावमा टिकट नदिएपछि उनी तत्कालनी जनसंघमा प्रवेश गरेर चुनाव लडेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *