सुपर ओभरमा आयरल्याण्ड विजयी, टी–२० सिरिज अफगानिस्तानलाई

एजेन्सी । अफगानिस्तानविरुद्धको तेस्रो तथा अन्तिम टी२०मा आयरल्याण्ड विजयी भएको छ । भारतको नोएडामा मंगलबार आयरल्याण्डले सुपर ओभरमा अफगानिस्तानलाई हराएको हो ।
आयरल्याण्डले दिएको १ सय ४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।
सुपर ओभरमा अफगानिस्तानले १ विकेट गुमाएर ८ रन बनायो । आयरल्याण्डले भने १ विकेट गुमाएर १२ रन जोड्दै जित हात पार्यो । अन्तिम खेलमा आयरल्याण्डले जित निकाले पनि अफगानिस्तानले सिरिज २–१ ले जितेको छ।
सुपर ओभरमा जानु अघि अफगानिस्तानका रहमान उल्लाह गुरबाजले ४८ रन जोड्दा कप्तान अस्घर अफगानले ३२ रन बनाए । आयरल्याण्डका ग्यारेथ डिलाने र सिमि सिंहले २–२ विकेट लिए ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो । उसका ग्यारेथ डिलानेले ३७ तथा ह्यारी हेक्टरले ३१ रन बनाए । अफगानिस्तानका क्वाएस अहमद र नबिन उल्हकले ३–३ विकेट लिए ।
Facebook Comment