दिल्लीका दोषी को ?

डिसी नेपाल
२८ फागुन २०७६ १३:३७

नयाँ दिल्ली। नारा भित्तामा प्रस्ट लेखिएको थियो । कमसेकम त्यो एक किलोमिटर लामो भित्तामा त लेखिएकै थियो जो उत्तरपूर्वी दिल्लीको जाफराबाद इलाकाबाट हुँदै बग्ने फोहर नालीसँग जोडिएका साँघुरा र भीड भरिएका गल्लीको हिफाजत गर्छ । उसको अगाडिको सेतो भागमा सिएए विरोधी र एनआरसी विरोधी नाराका उन्नाइस टुक्रा भित्तेचित्रको रुपमा छरिएका छन् । तर, प्रशासन यिनीहरुलाई देख्न असफल रह्यो । बस्, त्यसपछि के थियो ? कसैले एउटा ढुंगा फ्याँक्यो र पूरै इलाकामा २३ फेब्रुअरीमा यस्तो आगो दन्कियो जो चार दिनसम्म धू–धू गर्दै जलिरह्यो ।

यसका कैयौं संकेत छन् कि दंगा अचानक र आफैं भड्किएका होइनन् । त्यहाँ पेट्रोल बममा बदलिएका बोतलहरु, ढुंगाका थुप्रा र देसी कट्टाहरु जम्मा भएका थिए । ४९ मध्ये २२ मृतकहरुलाई गोली हानिएको थियो र करिब २ सय जना गोलीको शिकार भएका थिए । यस्तोमा पनि कानुन लागू गराउने एजेन्सीहरु र राजनीतिक तप्का केवल एक अर्कामाथि औंला उठाउनुबाहेक केही गर्न सकेनन् । त्यो पनि त्यतिबेला जब राष्ट्रिय राजधानीले हिन्दू मुस्लिम दंगाको यस्तो भीषण थप्पड विगत ७० वर्षमा देखेको थिएन । यस्तोमा एक पटक फेरि यो प्रश्न दोहोर्याउनु जायज होः दिल्लीलाई कसले लज्जित बनायो ?

यमुनाको ढलानदेखि टाढा ६२ वर्गकिलोमिटरमा फैलिएको उत्तरपूर्वी दिल्ली देशको सबैभन्दा घना आवादी भएको जिल्ला हो । प्रतिवर्गकिलोमिटर ४२० व्यक्तिको राष्ट्रिय औसतको तुलनामा कैयौं बढी यहाँ प्रति वर्गकिलोमिटर ३६ हजार १५५ मानिसहरु बसेका छन् । तीन फुट चौडा साँघुरा गल्लीहरुमा कंक्रिटका तीन तले घर एक अर्कासँग जोडिएर उभिएका छन् । शिक्षाको स्तर साथमा रोजगारको पनि कम छ । यहाँका नौजवानको महत्वाकांक्षा एक मोटरसाइकल र एउटा मोवाइलभन्दा केही छैन ।

उत्तर प्रदेशसँग बेधडक आवतजावत वाला सीमाका कारण दुवैतर्फका आपराधिक गिरोह सजिलै आवतजावत गर्छन् । इलाकामा मुसलमानहरुको घनत्व शहरका सबैभन्दा धेरै घनत्वमध्ये एक हो । दिल्लीका अन्य ठाउँमा १३ प्रतिशतको तुलनामा यहाँ ३० प्रतिशत । अपराध र साम्प्रदायिक दंगाको यहाँ इतिहास छ । १९८४ को शिख विरोधी दंगामा र १९९२ मा बाबरी मस्जिद भत्काएपछि यहाँ हिंसा भएको थियो । यो विष्फोटक घुलमिलमा साम्प्रदायिकताको भड्काउ प्रचारबाजी जोडिदिने हो भने यहाँ आगो दन्किने पूरै ग्यारेन्टी छ ।

इलाकामा तनाव त्यतिबेलादेखि नै सल्बलाइरहेको थियो जब भाजपा नेतृत्वको केन्द्र सरकारले गत वर्ष ९ डिसेम्बरमा नागरिकता (संशोधन) कानुन (सीएए) पारित गरेको थियो । यहाँदेखि २२ किलोमिटर टाढा शाहीन बागमा सयौं महिलाहरु १४ डिसेम्बरदेखि धर्नामा बसेका थिए । अर्कोतर्फ १७ डिसेम्बरमा उत्तर पूर्वी दिल्लीको सीलमपुर चोकमा जम्मा हुनका लागि बढिरहेका सीएए विरोधी प्रदर्शनकारीलाई पुलिसले रोक्दा झडप भएको थियो । भीडले पुलिसमाथि ढुंगा हाने र गाडीहरुमा क्षति पुर्याए । पुलिसले अश्रुग्यास प्रहार गर्यो र लाठीचार्ज गर्यो । १२ पुलिकर्मी र ६ नागरिक घाइते भएका थिए । त्यसपछि उत्तर पूर्वी दिल्ली सीएए विरोधी प्रदर्शनको ग्राउण्ड जीरो बन्यो ।

जनवरीको १४ तारिखमा दर्ता भएको एफआइआरमा ‘भीडलाई हिंसामा सहभागी हुन उक्साएको’ आरोपमा आम आदमी पार्टीका नेता अब्दुल रहमान र कांग्रेसका पूर्व विधायक मतीन अहमदलाई आरोपी बनाइएको थियो । लगभग त्यही समय भाजपा नेता कपिल मिश्रले आफ्ना ७ लाख ९६ हजार फलोअरका लागि भिडियो ट्वीट गर्न सुरु गरे र दावी गरे कि मुसलमानहरु पुलिसकर्मीलाई कुटिरहेका थिए र बसहरुमा ढुंगा हानेर त्यहाँ बसेका बालबालिकामा त्रास फैलाइरहेका थिए । त्यसपछि भाजपा समर्थकहरुले ह्याशट्याग अल्लाहोअकबर सुरु गरिदिए जसमा अल्लाहो अकबर नारा लगाइरहेका र पेट्रोल बम फालिरहेका कथित मुस्लिम भीडवाला भिडियो ट्रेण्ड गर्न थाले ।

दिल्ली विधानसभा चुनाव नजिक आइरहेको थियो, यस्तोमा भाजपाले ध्रुवीकरण गर्नका लागि यी घटनाहरुको प्रयोग गर्यो । भाजपा नेताहरुले भने कि शाहीन बागमा प्रदर्शन शहर र कारोबारका लागि असुविधा पैदा गरिरहेको छ । यसको गुंज उत्तरपूर्वी दिल्लीमा पनि सुनियो जहाँ कैयौं हिन्दू व्यापारी छन् र उनीहरुले सडक बन्द गरेका कारण आफ्नो जीविकामा भएको नोक्सानसँग आफूलाई खुसीसाथ जोडे । यो प्रभावकारी पनि रह्यो । भाजपाले दिल्ली विधानसभाका जुन ८ सिटमा जित्यो तीमध्ये ३ उत्तरपूर्वी दिल्लीबाट पायो । तीन अन्य सिट उसले छेउको पूर्वी दिल्लीको लोकसभा निर्वाचन क्षेत्रबाट पायो ।

यता चुनाव सकियो, उता पूरै देश खासगरी दिल्ली पुलिसको ध्यान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको २ दिने यात्रामा केन्द्रित भयो । यो सबका बीच चेतावनीका संकेतहरु, अर्थात विस्तारै बनिरहेको हिंसाको माहोल, ढुंगाहरु, पेट्रोल बमहरु र असलाका थुप्राहरुलाई नदेखेझैं गरियो । यो राष्ट्रिय राजधानीमा सूचना जुटाउने लम्बाचौडा केन्द्रीय नेटवर्कको बावजुद भयो ।

इन्टेलिजेन्स ब्युरो, जो गृह मन्त्रालयको आँखा र कान हो, साम्प्रदायिक रुपमा संवेदनशील क्षेत्रमा उसका गुप्तचर छन् । पुलिससँग गस्ती कन्स्टेबल र सादा कपडामा विशेष शाखाका कर्मचारी छन्, जो डेली सिचुएसन रिपोर्ट (डिएसआर) भर्छन् । राज्यहरुमा डिएसआर कमिश्नर र मुख्यमन्त्रीकहाँ जान्छ । दिल्लीमा जहाँ पुलिस मुख्यमन्त्रीको नभइ केन्द्रीय गृह मन्त्रालयको अधिन छ, यो रिपोर्ट कमिश्नर, उप राज्यपाल र गृह मन्त्रालयमा जान्छ ।

फेब्रुअरी २२ को राती करिब साढे १२ बजे २ सय महिलाहरु जाफराबाद मेट्रो स्टेशनमा जम्मा भए । उनीहरु तिरंगा (भारतको राष्ट्रिय झण्डा) फहराइरहेका थिए र सीएए तथा एनआरसीबाट स्वतन्त्रताको नारा लगाइरहेका थिए । उनीहरुले रातीमा यसकारण जम्मा हुन चाहे किनकि यस्तै गरी उनका शाहीन बागका दिदीबहिनीहरुले पनि आफ्नो विरोध प्रदर्शन सुरु गरेका थिए ।

भोलिपल्ट दिउँसोसम्म उनीहरुको संख्या करिब हजार पुग्यो । भीड बढाउनको लागि भीम आर्मीका मुखिया चन्द्रशेखर रावण आजादको ट्वीटरमा २३ फेब्रुअरीमा भारत बन्दको आह्वानले योगदान दियो । बन्द केवल सीएएको विरुद्ध विरोध दर्ता गर्नको लागि मात्र होइन दलित उत्पीडन र आरक्षणमाथि कथित चोटको विरुद्ध पनि थियो ।

जाफराबादको प्रदर्शन शाहीन बागबाट प्रेरित थियो । दुवै ठाउँमा उमेरले पाका महिलाहरु निस्केर आए र उनीहरुले सार्वजनिक सडक बन्द गरिदिए जो आसपासका थोक बजारहरुमा कारोबारको हिसाबले निकै अहम थिए । तर सडकमा सीएए विरोधी हिंसाको केही समयपछि नै एक हिन्दू बहुसंख्यक इलाकामा शाहीन बाग स्थापित गर्नुको बिल्कुलै फरक नतिजा निस्कियो ।

शाहीन बाग आन्दोलन स्थानीय महिलाहरुको शान्तिपूर्ण धर्नाको साथ सुरु भएको थियो । त्यहाँ महिलाहरु संयोगले मान्थे कि उनीहरुले यति ध्यान यसकारण पाइरहेका छन् किनकि उनीहरुले दिल्ली–नोएडालाई जोड्ने एक मुख्य सडकलाई बन्द गरिरहेका छन् । दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा हिंसापछि मुम्बइमा ५ जनवरीमा प्रदर्शनकारीहरुले गेटवे अफ इण्डिया र कार्टर रोडलाई यस्तै गरी बन्द गराउने कोसिस गरेका थिए ।

मुम्बइ पुलिसले उनीहरुको संख्या बढ्नुभन्दा पहिले नै उनीहरुलाई ठाउँ फेरेर आजाद मैदानमा जान राजी गरायो । दिल्लीमा सुरुवाती दिनहरुमा मानिसहरुलाई अर्को ठाउँमा लैजाने वा उनीहरुसँग कुराकानी गर्ने कोसिस गरिएन । शाहीन बागमा प्रदर्शन १२ औं हप्तामा प्रवेश गरिरहेको छ र अहिले बल्ल कुराकानीको कोसिस भयो । कुनै सीएए समर्थन भीड पनि यसरी शाहीन बागमा आएन तर जाफराबादका महिलाहरु यति भाग्यशाली थिएनन् ।

फेब्रुअरीको २३ तारिखमा जब यो इलाकामा सीएए विरोधी र्यालीमा मानिसहरुको संख्या बढ्न थाल्यो, त्यसपछि जाफराबाद मेट्रो स्टेशनको प्रवेश र निकास द्वार बन्द गरियो । त्यही दिन बरिष्ठ पुलिस अधिकारी वेद प्रकाश सूर्यले भने ‘हामी प्रदर्शनकारीहरुसँग कुरा गरिरहेका छौं ताकि उनीहरु त्यहाँबाट जाउन्, उनीहरु एउटा ठूलो सडकलाई यसरी रोक्न पाउँदैनन् । हामीले अर्धसैनिक सुरक्षा बललाई पनि बोलाएका छौं ।’

दिउँसो करिब १ बजेर २२ मिनेटमा कपिल मिश्राले ट्वीट गरे र आफ्ना समर्थकहरुलाई यो स्थानमा पुग्न भने । उनले आफ्ना समर्थकहरुसँग भने कि यदि पुलिस आम सडक बन्द हुनबाट रोक्न सक्दैन भने जनताले रोक्नेछन् । ३ बजेसम्म मिश्रको साथमा धेरै मानिसहरु जम्मा भए र उनीहरुले सीएए विरोधी प्रदर्शनकारीविरुद्ध नाराबाजी सुरु गरे । पुलिसको आंकलन अनुसार भीम आर्मीका समर्थकहरुले पहिले सुरुवात गरे र साँझ ४ बजेर २२ मिनेटमा सीएए समर्थक भीडमाथि ढुंगा हाने जसले फर्केर उनीहरुलाई लाठी र ढुंगाले टाढा धपाए ।

‘उनीहरु बोलाउ, गएर मानिसहरु बोलाउ, यिनीहरुलाई मार भन्दै चिच्याइरहेका थिए । कसैलाई थाहा थिएन कि को कतापट्टिटको हो’ यो भनाइ ३१ वर्षीय रुखसाना असलमको हो जो नोएडाको एक ब्युटी पार्लरमा काम गर्छिन् । त्यस दिन उनकी आमाले जोड दिएपछि उनी जाफराबादको विरोध प्रदर्शनमा आएकी थिइन् । उनी लडाइ झगडाबाट बचेर निस्किन सकिन् किनकि उनी भीडको किनारमा थिइन् । उनी भन्छिन् ‘हामीलाई थाहा थियो कि त्यहाँ केही नराम्रो हुनेवाला थियो किनकि ती सबै मानिसहरु फोन गरिरहेका थिए र अझै धेरै मानिसहरुलाई आउन भनिरहेका थिए । पुलिसले भीडमाथि लाठी चार्ज गरेन । पुलिसले यो सब हुन दियो ।

दिल्लीको एम्समा मनोचिकित्साका प्रमुख डा. एसके खंडेवाल भन्छन् ‘स्कुलमा २ बालबालिका लड्छन् भने शिक्षकले उनीहरुलाई एक अर्काबाट अलग्गै लैजान्छन् र शान्त हुनका लागि समय दिन्छन् । त्यसपछि उनीहरुलाई मेलमिलापका लागि एक अर्काको साथमा राख्छन् । यो एक अर्कासँग अलग्गै समय अहम हुन्छ ताकि रिसलाई शान्त गर्नको लागि समय दिन सकियोस् । जब मानिस नकारात्मक भावनाको गिरफ्तमा हुन्छ त्यतिबेला तर्क, विवेक र करुण तत्काल फर्केर आउँदैनन् ।’

२३ फेब्रुअरी बेलुका पत्थरबाजी, २४ फेब्रुअरीमा घरहरुमा आगजनी र भीडको हातबाट हत्या र त्यसको तेस्रो दिन पनि जारी रहनुको बीच परिस्थितिलाई उम्लिन दिइयो । रुखसाना भन्छिन् ‘२३ का दिन बिहान हर कोही आक्रोशित थिए । किराना पसलबाट अर्को धर्मका मानिसहरुलाई फर्काइएको थियो ।’ तर, न त कानुन लागू गर्ने एजेन्सीहरु न नेताहरुले यसलाई गम्भीरताका साथ लिए ।

त्यतिबेलासम्म एउटा खतरनाक दरार पैदा भइसकेको थियो । जाफराबाद र मौजपुरलाई जोड्ने त्यही सडकमा करिब एक किलोमिटर टाढा एक सीएए समर्थक भीड सडकमा बस्यो र उसले घोषणा गर्यो ‘जबसम्म जाफराबाद खाली गराइँदैन, हामी यहाँबाट हट्दैनौं ।’ दिल्ली चुनावको क्रममा केन्द्रीय वित्त राज्यमन्त्री अनुराग ठाकुरको मुखबाट लोकप्रिय बनाइएको नारा ‘देश के गद्दारों को, गोली मारो सालों को’ लगायतका नारा गुञ्जिन थाले । साथमा सीएए विरोधीहरुलाई निशाना बनाएर भनिएका अन्य भड्काउ कुराहरु ‘किसे चाहिए आजादी, हम देंगे आजादी’ र ‘हमारा यही नारा है, भारत देश हमारा है’ पनि गुञ्जिए । पुलिस यी सबैप्रति मुकदर्शक बनिरह्यो । त्यही दिन पछि सीएए विरोधी र समर्थक भीडको बीच हिंस्रक टकरावका तस्वीरहरु एकपछि अर्को आउन थाले । यसको कुनै निर्णयक जानकारी छैन कि हिंसा कुन समुदायले पहिले सुरु गर्यो ।

ट्रम्प जुन दिन दिल्ली आउनु थियो त्यसको एक दिन पहिले २४ फेब्रुअरीमा आफ्नो छोराको साथमा घर फर्किरहेका ५३ वर्षीय मोहम्मद युसुफलाई उनको मोटरसाइकलबाट घिसारेर उतारियो त्यसपछि भीडले उनलाई कुटीकुटी मार्यो । उनलाई लाठीले कुट्नुभन्दा पहिले मानिसहरुलाई जय श्री रामको नारा लगाउन भनिरहेको भीडका भिडियो अनलाइन पठाउन थालियो ।

त्यति भइसक्दा पनि कुनै नेताले शान्तिको अपिल गरेनन् न त पुलिसले नै थप सुरक्षा बल पठाउनका लागि भन्यो । २५ फेब्रुअरी बेलुका साढे ४ बजे भीडको हातबाट भएको हत्याको विरोधमा प्रदर्शनका लागि महिलाहरुलाई फेरि जाफराबाद मेट्रो स्टेशनमा जम्मा हुन भनियो । उनीहरु जम्मा भएका मात्र थिए त्यही बेला दंगाइहरु आए र गोलीबारी सुरु गरे ।

दुवै समुदायको बीच टकराव अन्य इलाका सीलमपुर, बाबरपुर, करावल नगर, घोंडा, गान्धी नगर, रोहतास नगरसम्म फैलियो । सीलमपुर र बाबरपुरलाई छाडेर यी सबै निर्वाचन क्षेत्रमा भाजपाले जितेको थियो । दंगाइहरुले स्कुल, धार्मिक संस्थाहरु र घरहरुलाई रोजी–रोजी निशाना बनाए । न त पुलिसको लाठी चार्ज र अश्रुग्यासका गोला न त केही इलाकामा धारा १४४ले हिंसालाई रोक्न सक्यो जो जंगलको आगोजस्तै फैलिइरहेको थियो । इलाकाका साँघुरा बस्तीहरुका कारण पुलिसलाई भित्र घुस्न पनि मुस्किल भएको थियो । हिंसाका शिकार कैयौं मानिसहरुलाई घिसारेर गल्लीमा लगियो र चक्कु हानेर उनीहरुका शवलाई इलाका हुँदै बग्ने नालीमा हालियो ।

दिल्लीका पूर्व कांग्रेस अध्यक्ष अजय माकन हिंसाको आगो भड्काउनुमा सरकारलाई दोषी ठहर्याउँछन् । ‘यो कथित सीएए समर्थक प्रदर्शन केन्द्रको भाजपा सरकारबाट प्रायोजित छन् । उनीहरुलाई थाहा थियो कि यसको अन्त्य हिंसामा हुन्छ जसबाट उनीहरुले अब सीएए विरोधी प्रदर्शनकारीहरुलाई हटाउन बहाना पाएका छन् ।’ २५ फेब्रुअरीका दिन जब जाफराबादको प्रदर्शन स्थल खाली गराइयो, भाजपाका महासचिव बीएल सन्तोषले ट्वीट गरेः जाफराबाद मेट्रो प्रदर्शन स्थल पूर्ण रुपमा खाली । खेल अब सुरु भएको छ । कानुनलाई पूरै भावनासँग लागू गर्ने समय । दंगाइहरुलाई भारतीय कानुनहरुको एक वा २ सबक सिकाउने आवश्यकता ।’ पछि उनले आफ्नो ट्वीटलाई सम्पादन गरे र त्यसबाट त्यो भाग हटाए जहाँ भनिएको थियो कि खेल अब सुरु भएको छ । यसबाट कुनै सहयोग प्राप्त भएन । खेल त जारी छ ।

इण्डिया टुडेबाट अनुवादित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *