पाटनलाई उपाधि

डिसी नेपाल
२८ फागुन २०७६ १७:४१

काठमाडौं । पाटन बहुमुखी क्याम्पसले आठौं बीएससी–सीएसआईटी कप राष्ट्रव्यापी टी– २० क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।

न्यु समिट कलेजको आयोजनामा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा पाटनले एकेडेमीयालाई ७ विकेटले पराजित गर्यो । उपाधिसंगै पाटनले ६० हजार नगद पुरस्कार प्राप्त गर्यो । एकेडेमियाले ४० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

टस जितेर ब्याटिङ रोजेको एकेडेमीयाले निर्धारित २० ओभरमा ८ विकेट क्षतिमा ९८ रन बनायो । मधुसुदन खनालले २२ तथा विपिन महर्जनले १७ रन बनाए । बलिङतर्फ पाटनका निर्मल लुइटेलले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । चारै ओभर गरेका रुपेश बुढाथोकीले २५ रन दिएर २ विकेट लिए ।

जवाफमा पाटनले १४.४ ओभरमा ३ विकेट गुमाउदै १ सय रन बनायो । हिमाल ज्ञवालीले २५ र सुनिल खड्काले नटआउट २४ रन जोडे । सुनिल ‘म्यान अफ द म्याच’ बने । बलिङतर्फ एकेडेमियाका चिन्तामणि विश्वकर्माले २ विकेट हात पारे । भुवन शाहीले १ विकेट लिए ।

पाटनका चक्र तिमल्सिना ‘म्यान अफ द सिरिज’ घोषित भए । चक्रले ७ खेलबाट १७ विकेट लिए । ४ खेलमा १३ विकेट लिएका एकेडेमियाका चिन्तामणि विश्वकर्मा उत्कृष्ट बलर चुनिए । हिमालयन कलेज अफ इन्जिनियरिङका किरण विष्ट उत्कृष्ट ब्याट्सम्यान ठहरिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, न्यु समिटका प्रिन्सिपल डा. शिव दत्त ज्ञवाली, न्यु समिटका निर्देशकत्रय चोकराज दबाडी, भरत गिरी र अजयप्रसाद ढकाल एकेडेमियाका प्रिन्सिपल राजेश श्रेष्ठ, केएमसी नेटवर्कका निर्देशक किशोर गौतमलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे ।

फागुन १७ गतेदेखि सुरु प्रतियोगितामा १३ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । नवौं संस्करण पाटनले आयोजना गर्ने भएको छ । विजेताले अर्को संस्करण आयोजना गर्ने प्रावधान अनुरुप पाटनले नवौं संस्करण आयोजना गर्ने भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *