आइपिएलमा विदेशी खेलाडीको सहभागितामा ग्रहण, प्रतियोगिता नै स्थगित हुन सक्ने

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा विदेशी खेलाडीको सहभागितामा शंका पैदा भएको छ । भारत सरकारले कोरोनाभाइरसलाई फैलिनबाट रोक्नको लागि भिसामा प्रतिबन्ध लगाएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)ले स्थितिको निरीक्षण गरिरहेको जनाएको छ । आइपिएलको १३ औं सिजन सुरु हुन अब केही दिन मात्र बाँकी छ ।
भारत सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन १५ अप्रिलसम्मका लागि कूटनीतिक सहितका केही श्रेणीबाहेक अन्य सबै विदेशी नागरिकका लागि भिसामा प्रतिबन्ध लगाएको छ । बीसीसीआइले अझै २ दिन पर्खिने र त्यसपछि आइपिएलको बारेमा आफ्नो स्थिति स्पष्ट पार्ने जनाएको छ । बोर्डका एक बरिष्ठ अधिकारीले समाचार एजेन्सी पीटीआइसँग कुरा गर्दै भने ‘कृपया हामीलाई २ दिन दिनुहोस् । तत्काल ठोस जानकारी दिन सम्भव छैन ।’ भारतमा कोरोना संक्रमणका ६० केस भेटिएका छन्, १ जनाको ज्यान गइसकेको छ ।
२९ मार्चदेखि आइपिएलका खेल सुरु हुँदैछन् । अब खाली स्टेडियममा खेल संचालन गर्नु एक विकल्प हो तर यस विषयमा १४ मार्चमा मुम्बइमा हुने लिगको गभर्निङ काउन्सिलको बैठकमा निर्णय गरिनेछ । महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले पनि यो अवस्थामा आइपिएलका विषयमा राज्य सरकारले ठूलो फैसला लिनुपर्ने अवस्था आउन सक्ने जनाएका छन् । टोपेले राज्य सरकारसँग आइपिएल नै स्थगित गर्ने वा खेललाई टिभीका दर्शकसम्म सीमित राख्ने २ विकल्प मात्र भएको बताए ।
आइपिएलका लागि करिब ६० खेलाडी भारत आउँदैछन् । यो सूचीमा एक नेपाली खेलाडी पनि छन् । क्रिकेट बोर्डले यी विदेशी खेलाडीको भिसा रद्द गरिसकिएको छ वा छैन भन्ने स्पष्ट नभएको बताए । अर्कोतर्फ आजै मद्रास उच्च न्यायालयमा पनि जनहित याचिकामा सुनुवाइ हुने तय छ । सरकारको तर्फबाट भनिएको छ ‘कूटनैतिक, आधिकारिक, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संगठनहरु, रोजगार र परियोजना भिसा बाहेक अन्य सबै जारी भिसा १५ अप्रिल २०२० सम्मका लागि निलम्बन गरिएका छन् । यो १३ मार्च २०२० दिउँसो १२ बजेदेखि लागू हुनेछ ।’
Facebook Comment