प्राइम बैंकले शुरु गर्यो एकीकृत कारोवार
काठमाडौं। पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थाले गाभ्ने तथा गाभिने प्रक्रियालाई निरन्तरता दिएका छन्। सोही क्रममा आजदेखि प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंकलाई गाभेर एकीकृत कारोवार शुरु गरेको छ।
गत असारमा भएको सम्झौताबमोजिम प्राइमले कैलाशलाई गाभेर एकीकृत कारोवार थालेको हो। प्राइमका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरले एकीकृत कारोवार शुरु भएको घोषणा गरेका हुन्। कार्यक्रममा दुवै संस्थाका सञ्चालक समितिका अध्यक्ष, सदस्य र कर्मचारीको सहभागिता थियो।
कैलाशको १०० कित्ता शेयर बराबर प्राइमको ९४ कित्ता शेयर रहने गरी समझदारी भएको थियो। नेपाल राष्ट्र बैंकले फागुन १८ गते प्राइमलाई एकीकृत कारोवार गर्न स्वीकृति दिएको थियो। कैलाशको प्राप्तिपश्चात् प्राइमको कूल चुक्ता पूँजी रु १३ अर्ब ९७ करोड पुगेको छ। यस्तै कूल निक्षेप रु एक खर्ब ३० अर्ब, ऋण लगानी रु एक खर्ब १५ अर्ब पुगेको छ। यसैगरी शाखा सङ्ख्या १९९ र कर्मचारी सङ्ख्या एक हजार ५०० पुगेको छ।रासस
Facebook Comment