सुर्खेतमा ४० हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्ध खोप लगाइँदै

सुर्खेत । सुर्खेतमा दादुरा–रुबेला विरुद्धको खोप अभियान सञ्चालनगर्न लागिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जिल्लाका झण्डै ४० हजार बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप लगाउन अभियान सञ्चालन गर्न लागेको हो।
पाँचबर्ष मुनीका बालबालिकाहरुलाई खोप लगाउन सुर्खेतमा तीन चरणमा अभियान सञ्चालन गर्न लागिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका खोप अधिकृत जीवराज ढकालले जानकारी दिए । अभियान चैत १ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने उनले बताए।
सुर्खेतमा एक महिनादेखि २३ महिनाका ११ हजार आठसय २८ र २४ महिनादेखि ५९ महिनाका २७ हजार आठसय ८७ जना बालबालिका छन् । खोप अभियान सञ्चालन गर्न जिल्लाका पाँचसय ८० वटा खोपकेन्द्र, एकसय ५६ खोपकर्ता र एकहजार एकसय ६० जना स्वंयम सेवक खटिन लागेको अधिकृत ढकालले जनाए। पहिलो चरणअन्तर्गत वीरेन्द्रनगर नगरपालिकामा चैत १ गतेदेखि ६ गतेसम्म सञ्चालन गर्न लागिएको छ ।
यस्तै दोस्रो चरणमा सिम्ता र चौकुने गाउँपालिका तथा गुर्भाकोट र पञ्चपुरी नगरपालिकामा चैत ८ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिने ढकालको भनाई छ। तेस्रो चरणमा १५ गतेदेखि १९ गतेसम्म भेरीगंगा र लेकवेशी नगरपालिका तथा चिंगाड र बराहतालमा गाउँपालिकामा दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन गरिने छ ।
बालबालिकालाई खोप लगाएपछि सामान्य समस्या देखिए पनि विस्तारै पूर्ण रुपमा सन्चो हुने भएकाले अभियानलाई सफल पार्न ढकालले आग्रह गरे । खोप नलगाएमा बालबालिकाहरुमा धेरै देखिने र छिटो संक्रमण हुने यो रोगविरुद्धको खोप समयमै नलगाएमहामारीको रुपमा फैलिन सक्ने स्वास्थ्यकर्मीको भनाई छ।
Facebook Comment